बैठक तथा भेला नगर्न स्थानीय प्रशासनको आग्रह    – Janadesh Daily | ePaper

बैठक तथा भेला नगर्न स्थानीय प्रशासनको आग्रह   


चितवन,

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै जिल्लाभित्र कुनै पनि भेला तथा बैठक सञ्चालन नगर्न निर्देशन दिएको छ । जिल्लाका केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला तथा अन्य सङ्घसंस्थाले भेला तथा बैठक सञ्चालन गरेको जानकारी आएको भन्दै प्रशासनले यस्तो निर्देशन दिएको हो । भेला तथा बैठक सञ्चालन गर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च हुने भएकाले त्यस्ता प्रकारको कुनै पनि गतिविधि नगर्न/नगराउन प्रशासनले अनुरोध गरेको छ ।

प्रशासनको निर्देशन अवज्ञा गरी यस्ता कार्यलाई सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिने जनाएको छ । सूचनामा जिल्लाका सातवटै स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइ, गैरसरकारी संस्था महासङ्घ चितवन र जिल्ला सहकारी सङ्घलाई आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह पनि गरिएको छ ।
 
७७३ जनालाई कारवाही    

जिल्लाका विभिन्न स्थानमा सरकारले गरेको कोरोना नियन्त्रण अभियानमा असहयोग गर्ने ७७३ जना कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आइतबार र सोमबार गरी उनीहरुलाई नियन्त्रणमा लिई जरिवाना गरिएको हो ।

जिल्लाका विभिन्न स्थानमा न्यूनतम सामाजिक भौतिक दूरी कायम नगरी सवारी साधन सञ्चालन गर्ने, सार्वजनिक कार्यमा सामाजिक भौतिक दूरी कायम नगर्ने र मास्क प्रयोग नगरी सार्वजनिक स्थानमा हिँडडुल गरेका उनीहरुलाई कारवाही गरिएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उनीहरुलाई सङ्क्रमण रोग ऐन, २०२० बमोजिम कारवाही गरिएको उहाँले बताउनुभयो । जनही रु १०० र रु ५०० का दरले जरिवाना गरी उनीहरुलाई छाडिएको छ । कारवाहीबाट रु ८३ हजार ५०० सङ्कलन भएको थापाले जानकारी दिनुभयो ।

दीपेन्द्र गज म¥यो  

चितवन राष्ट्रिय निकुञ्जमा रहेको दीपेन्द्र गज हात्ती क्षयरोगका कारण मरेको छ । सोमबार साँझ हात्ती मरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार क्षयरोगका कारण हात्ती मरेको अनुमान गरिएको छ । बाउन्न वर्षको भाले हात्ती निकुञ्जको सौराहामा रहेको हात्तीसारमा थियो । विगत केही महिनादेखि क्षयरोगसहित हात्तीमा अन्य समस्या रहेको थियो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्