जनादेश संबाददाता,
काठमाण्डौ । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक एनसेल अब पब्लिक कम्पनी भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १९ मा एनसेललाई पब्लिक कम्पनीमा जाने स्वीकृति दिएको हो ।
सरकारको लगानी रहेको नेपाल टेलिकम यसअघि नै पब्लिक कम्पनी भइसकेको छ भने एनसेलले पनि पब्लिक कम्पनी भएसँगै सर्वसाधारणमा सेयर बिक्री गर्नुपर्नेछ । दूरसञ्चार क्षेत्रका अन्य कम्पनी पनि पब्लिक लिमिटेडमा रुपान्तरण भएका छैनन् । पब्लिक कम्पनीमा जाने निर्णयसँगै एनसेल प्रालि रहेको कम्पनीको नाम एनसेल आजियटा लिमिटेड भएको छ ।
कम्पनी ऐन २०६३ को दफा १३ (१) बमोजिम प्राइभेट लिमिटेड कम्पनी निश्चित प्रक्रिया पूरा गरेपछि पब्लिक कम्पनीमा रूपान्तरण हुनसक्ने व्यवस्था छ । सोहीअनुसार एनसेल अजियाटाले २०७५ सालमै पब्लिकमा जानका लागि आवेदन दिएको थियो ।
यसका मुख्य लगानीकर्ता मलेसियन कम्पनी अजियाटासँग ८० प्रतिशत स्वामित्व छ भने स्थानीय साझेदारका रूपमा भावना सिंह श्रेष्ठसँग २० प्रतिशत छ । यसको पुँजी वृद्धिका लागि औद्योगिक प्रवद्र्धन बोर्डले स्वीकृति दिनुपर्छ र सो स्वीकृतिपछि मात्र एनसेलको सेयर बजारमा आउनेछ ।
नेपालमा बढी नाफा कमाउने तथा कर तिर्ने कम्पनी पुँजी बजारमा आउँदा भविष्यमा आउने नयाँ कम्पनीलाई पनि सकारात्मक सन्देश दिएको छ । एनसेलले २०६१ साल भदौमा सेवा सञ्चालनको लाइसेन्स पाएको हो ।