काठमाडौँ । विश्व व्यापार संगठन (डब्लूटीओ) ले नेपालका शैक्षिक संस्थाहरूको क्षमता अभिवृद्धिमा सघाउने भएको छ । यसका लागि नेपालमा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा (कुसोम) डब्लूटीओ चेयर प्रोग्राम (डब्लूसीपी) सुरु गरिएको छ । ललितपुरमा सोमबार आयोजित एक कार्यक्रममा मुख्यसचिव शंकरदास बैरागीले कुसोममा डब्लूटीओ चेयर उद्घाटन गरे ।
विश्व व्यापार संगठनका सदस्यहरूको बहुपक्षीय व्यापार प्रणालीमा पूर्ण सहभागितालाई सहज बनाउने लक्ष्यका लागि डब्लूटीओ चेयर प्रोग्राम (डब्लूसीपी) ले विकासोन्मुख राष्ट्रहरूका शैक्षिक संस्थालाई वित्तीय तथा प्राविधिक सहायता उपलब्ध गराउँछ । यसबाट ती मुलुकले अन्तर्राष्ट्रिय व्यापार कानुन र अर्थशास्त्रको ज्ञान बढाउने उद्देश्य लिइएको हुन्छ । यस्तो कार्यक्रम नेपालमा ल्याउनु गर्वको विषय भएको डब्लूसीपी नेपालका सहअध्यक्ष तथा काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेले बताए । डब्लूसीपी आगामी चार वर्ष (सन् २०२२–२०२६) कुसोममार्फत सञ्चालन हुनेछ, जसमा मुख्यतया तीन वटा खम्बामा काम हुनेछन् । यसभित्र पाठ्यक्रम विकास र शिक्षण, अनुसन्धान र क्षमता अभिवृद्धिको काम हुनेछ ।
क्षमता अभिवृद्धिमा तालिम कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन तथा व्यापारसँग सम्बन्धित सरोकारवाला निकायमा सचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ । पाठ्यक्रम विकास शिक्षणतर्फ अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित विभिन्न तहमा कोर्स निर्माण गरिनेछ । व्यापारसँग सम्बन्धित अनुसन्धानका कामसमेत यसबीचमा हुने कुसोमले जनाएको छ ।
यस्तो नेटवर्कबाट विचारहरूको अन्तर बिजारोपणका साथ ज्ञानलाई बढावा दिई त्यसको आदानप्रदान गर्न सहयोग पुग्ने विश्व व्यापार संगठनका उपमहानिर्देशक जियाङ झाङले बताए । शैक्षिक अनुसन्धानका माध्यमबाट व्यापारको क्षेत्रमा नयाँ नयाँ सोचको सिर्जना गर्न चेयर कार्यक्रमले भूमिका खेल्ने मुख्यसचिव बैरागीेको भनाइ छ । कार्यक्रमको सफलताका लागि नेपाल सरकारको दरिलो साथ रहनेसमेत उनले आश्वासन दिए । सन् २००४ मा नेपाल डब्लूटीओको सदस्य बनेको स्मरण गराउँदै उनले नेपाल अन्तर्राष्ट्रिय समुदायको जिम्मेवार सदस्यका रूपमा काम गरिरहेको समेत उल्लेख गरे । डब्लूटीओको सदस्य बन्दा नेपालको अपेक्षा र वास्तविकताबीच अन्तर रहेको उल्लेख गर्दै उनले चेयर कार्यक्रमले नेपाल जस्ता विकासोन्मुख मुलुकलाई अन्तर्राष्ट्रिय व्यापार र कानुनका जटिलता चिर्न सहयोगी बन्ने अपेक्षासमेत गरे । नेपालको सन्दर्भमा व्यापार घाटा मुख्य समस्या भएको र यसमा निजी क्षेत्रको भूमिकासमेत महत्त्वपूर्ण हुने उनको भनाइ छ । यद्यपि पछिल्लो अन्तर्राष्ट्रिय परिदृश्यले ‘डुइङ बिजनेसको मूल्य’ बढ्दा प्रतिस्पर्धी क्षमता बढेको उनले स्विकारे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल डब्लूटीओको सदस्य हुँदा नेपालको निजी क्षेत्र सबैभन्दा उत्साहित भएको स्मरण गराउँदै अहिले त्यसअनुसारको नतिजा नदेखिएको बताए ।
कान्तिपुरबाट