चुनावी डेटलाइन गोरखाः बाबुरामका योगदान सम्झिँदै प्रचण्डलाई जिताउने मुडमा रहेका मतदाता – Janadesh Daily | ePaper

चुनावी डेटलाइन गोरखाः बाबुरामका योगदान सम्झिँदै प्रचण्डलाई जिताउने मुडमा रहेका मतदाता


जनादेश वाच।
डा. बाबुराम भट्टराईको गाउँ पालुङटारमा यतिबेला उनकोसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्चा ज्यादा छ। राजनीतिक अस्थिरताको भूमरीमा फसेका भट्टराईप्रतिगाउँठाउँमा सहानाभूति देखिन्छ भने माओवादीमै भएकाहरू पनि उनको खुलेर प्रशंसा गर्छन् । डा. भट्टराईले चुनाव लड्दै आएको यो क्षेत्रमा अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चुनावी मैदानमा छन् । यही निर्वाचन क्षेत्रका मतदाता हुन्, पालुङटार–१ का ७६ वर्षीय लिलबहादुर श्रेष्ठ । पूर्वप्रधानमन्त्री भट्टराईको गाउँठाउँका उनले बाबुराम जति पटक उठे त्यति नै पटक उनलाई मत दिए । लिलबहादुर माओवादी समर्थक हुन् ।

बाबुरामको काम, व्यवहारप्रति सकारात्मक भए पनि उनको पार्टी फेरिरहने बानीको लिलबहादुरले कडा आलोचना गरे । बाबुरामका कारण लिलबहादुर माओवादीसँग नजिक भएका थिए । बाबुराम २०७० सालमा चुनाव लड्दा उनको घरदैलो र चुनावी सभामा पनि हिँडे । तर, बाबुरामसँगै अस्थिर राजनीतिक यात्रामा भने लागेनन् । बाबुरामका विचार, भिजनका प्रशंसक लिलबहादुर उनको पछिल्लो अस्थिर राजनीतिक यात्राबारे मात्र चिन्तित छैनन्, आफ्नो गाउँठाउँ विकास नहुनेमा चिन्ता पनि दर्शाउँछन् । लिलबहादुर भन्छन्, ‘बाबुराम ठीकै थिए । उनले ठाउँ छोड्ने गरे । भताभुंग, लथालिङ्ग भयो । अहिले प्रचण्डसँगै एकै ठाउँ भइदिएको भए संगठन पनि बन्थ्यो । हाम्रो ठाउँ पनि बन्थ्यो ।’

२०७२ सालमा तत्कालीन एकीकृत नेकपा माओवादी छोडेयता डा. भट्टराईको राजनीतिक शक्ति क्षयीकरणको बाटोमा छ । यहीबीच उनको यात्रा नयाँ शक्तिबाट सुरु भएर जसपा हुँदै अहिले नेसपासम्म आइपुगेको छ । उनी जुन बाटो रोज्छन्, त्यहाँ जानेहरू पनि छन् । जनयुद्धका ‘सेकेन्ड म्यान’ मानिने बाबुरामले आफ्नो गाउँ घर हुँदै देशभर थुप्रोलाई माओवादीमा गोलबद्ध गरे । बाबुराम आफू माओवादीमा नभए पनि उनले भित्र्याएकाहरू त्यहीँ छन् ।

गोरखाको सिरानचोक गाउँपालिका पनि प्रचण्ड चुनाव लड्न लागेकै क्षेत्रमा पर्छ । सिरानचोक– ४, चोरकाटेका बोधबहादुर कुमाल जनयुद्धताका नै माओवादीमा भूमिगत भएका थिए । आन्दोलन र राजनीति भनेर जीवन नचल्ने देखेपछि २०६० सालपछि माओवादीमा कुमालले सक्रियता घटाए । माओवादी समर्थक भए पनि अहिले उनी सक्रिय छैनन् तर प्रचण्डलाई जिताउन मत दिन्छु भनेर खुलेरै सुनाउँछन् । प्रचण्डलाई गाली पनि गर्छन् । ‘माओवादीका कुरा मन परेर त्यतिबेला म लागेको थिएँ । हण्डर–ठक्कर खाएर आइयो,’ उनी असन्तुष्टि पोख्छन्, ‘अहिले हाम्रो मूल्यांकन हुँदैन । आ–आफ्नो स्वार्थका लागि ठीकै छ ।’

२०५४ सालमा माओवादीसँग जोडिएका कुमाल २०५८ साल ८ मंसिरमा गोरखाकै भच्चेकमा सरकारी पक्षबाट गिरफ्तारीमा परेका थिए । त्यतिबेला सेनाको हिरासतमा २१ महिना बसेको उनले सुनाए । त्यहाँबाट छुटेपछि उनी कतार गए । दुई वर्षमा त्यहाँबाट फर्केपछि बोधबहादुर अहिले गाउँमै खेती किसानी गरेर बसेका छन् । लिलबहादुरजस्तै उनी पनि माओवादीको समर्थन गरेरै बसेका छन् ।

उनको र बाबुराम भट्टराईको घर वारिपारिको डाँडामा पर्छ । बाबुराम गोरखाका लागि काम गरेको मान्छे भए पनि एकै ठाउँमा टिक्न नसक्ने प्रवृत्तिले अप्ठेरोमा पुर्‍याएको उनी बताउँछन् । तर, कामको हिसाबले उनमा बाबुरामप्रति कुनै गुनासो सुनिएन । गोरखाका गाउँगाउँमा सडक पुर्‍याएको र आफूले सकेको योगदान गरेको भन्दै उनी बाबुरामको मुक्तकण्ठले प्रशंसा गर्छन् । बोधबहादुर भुसेण्डे फाँटबाट देखिने एउटा डाँडोतिर औँला तेर्स्याउँछन्, ‘त्यो छोप्राकको डाँडोमा बाटो पुग्छ भनेर कसले सोच्याथ्यो र ? बाबुरामले गरेकै हुन् । तर, पार्टीगत हिसाबले समस्या भयो नि !’

प्रचण्डसँग मिलेर समाजवादी केन्द्र गठन गर्ने चर्चाबीच डा. भट्टराईको पार्टी गोलाकारभित्रको हँसिया हतौडा चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा छ । यसले पनि बाबुरामले घुम्दै–फिर्दै प्रचण्डसँगै मिल्ने संकेत पनि गरेका छन् । गोरखामा माओवादीको पकड छ । बाबुरामको गृहपालिका पालुङटारमा बाबुरामको प्रभाव अझै पनि राम्रो छ । गत स्थानीय तहको चुनावमा माओवादी विजयी हुँदा त्यतिबेला बाबुराम रहेको जनता समाजवादी पार्टी दोस्रो भएको थियो । विजयी भएका माओवादीसँग जसपाका उम्मेदवारकाे भिन्नता पनि जम्मा ३ सय ५५ थियो ।

गोरखा २ मा स्थानीय तहको नतिजाअनुसार सबै ठाउँमा उम्मेदवारी नदिए पनि जसपाको मत साढे ७ हजार छ । एमाले गठबन्धनविरुद्ध एक्लै लड्दा ७ हजार ९ सय मत पाएको थियो । यो मतले पनि गोरखा २ मा बाबुराम र एमालेको शक्ति बराबर रहेको देखाउँछ ।

स्थानीय तहको मतअनुसार माओवादीको २२ हजार २५० मत छ भने कांग्रेसको २१ हजार मत छ । स्थानीय तहको मतपरिणामलाई आधार मान्दा गोरखा २ मा गठबन्धनको मत र एमालेको मतान्तर ४२ हजार छ । यसले पनि गोरखा २ मा प्रचण्डलाई एमालेका अब्दुस मियाँबाट कुनै चुनौति देखिँदैन।

अहिले बाबुराम आफ्नो प्रभाव क्षेत्रमा प्रचण्डलाई सँगसँगै लिएर जिताउन लागिपरेका छन् । गत हप्ता प्रचण्डलाई लिएर उनी आफ्नो गाउँ खोप्लाङ पुगेका थिए । उनले प्रचण्डलाई चुनाव जिताउन आह्वान गरे । त्यसमा खोप्लाङ र बाबुराम समर्थकले इन्कारेका छैनन् । प्रचण्ड बाबुरामको गाउँ पुगेर मत माग्दा प्रचण्डले काम नगरे ‘बाबुरामको कान समात्ने हो’सम्म भनेर सचेत गराएका थिए । त्यसैले लिलबहादुर भन्छन्, ‘अहिले यता प्रचण्डलाई नै जिताउने कुरा छ ।’

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्