‘साइबर सुरक्षा’ पुस्तक सार्वजनिक – Janadesh Daily | ePaper

‘साइबर सुरक्षा’ पुस्तक सार्वजनिक


जनादेश, काठमाण्डौं । बागमती प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले सङ्घीय सरकारले बनाइरहेको साइबर सुरक्षा नीतिमा प्रदेश र स्थानीय तहलाई पनि समेट्न आग्रह गर्नुभएको छ। केन्द्रीकृत मानसिकतामा बन्दै आएका सङ्घीय नीतिलाई सङ्घीयताको मर्म र भावना अनुसार अगाडि बढाउन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री श्रेष्ठले सङ्घीय सरकारलाई आग्रह गर्नुभएको हो।

blog

सञ्चार रजिष्ट्रार कार्यालयले प्रकाशन गरेको साइबर सुरक्षा नामक पुस्तक बुधबार सार्वजनिक गर्नुहुँदै मन्त्री श्रेष्ठले साइबर सुरक्षा रणनीति, नीति र कानुन बनाएर कार्यान्वयन गर्न प्रस्तावित निर्देशक समितिमा साइबर सुरक्षा विज्ञ मात्र नभएर प्रदेशमा सञ्चार हेर्ने मन्त्री, गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घको प्रतिनिधि रहन आवश्यक हुने बताउनुभयो।

साइबर सुरक्षाको समन्वय तथा सहजीकरण समितिमा प्रदेशका सञ्चार हेर्ने मन्त्रालयका सचिवको प्रतिनिधित्व हुनुपर्ने, राष्ट्रिय साइबर सुरक्षा रणनीतिक कार्य समूहमा प्रदेशको सञ्चार हेर्ने निकायको प्रमुखको प्रतिनिधित्व हुनु पर्ने पनि उहाँले बताउनुभयो। त्यसो हुँदा सङ्घ र प्रदेशमा समन्वय हुन्छ र जुनसुकै स्थानीय तहलाई पनि त्यही संयन्त्र भित्र ल्याउनु उपयुक्त हुने उहाँको भनाइ छ। बागमती प्रदेशमा सूचना प्रविधि र साइबर सुरक्षासँग सम्बन्धित विषयमा कानुन निर्माण गरेर कार्यान्वयनमा लाने उहाँको भनाइ छ।

आम नागरिकले कम्प्युटर, मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालको दैनिक प्रयोग गर्ने सवालमा आउने चुनौती र त्यसका सुरक्षा उपायका बारेमा जानकारी गराउने उद्देश्यले साइबर सुरक्षा पुस्तक तयार पारिएको सञ्चार रजिष्ट्रार रेवती सापकोटाले बताउनुभयो।

रजिष्ट्रार सापकोटाले भन्नुभयो, ‘‘डिजिटल प्रविधिको प्रयोगमा धेरै चुनौती छन्। यस्ता चुनौतीसँग भागेर अगाडि बढ्ने बाटो छैन, बरु आफूलाई सक्दो प्रविधि साक्षर र प्रविधिमैत्री बनाउन सकियो भने यसबाट लिन सकिने फाइदा धेरै छन्।’’

सञ्चार रजिष्ट्रार सापकोटाले नेपाली नागरिकलाई चुनौतीको सामना गर्न सक्षम बनाउन साइबर सुरक्षासँग सम्बन्धित विषयमा चेतना जगाउन उपयोगी हुने अध्ययन सामग्री तयार गरिएको बताउनुभयो। ‘‘यो पुस्तकले साइबर सुरक्षाका बारेमा जान्न चाहनेका लागि भोक जगाउँछ, उत्सुकता जगाउँछ। जुनसुकै पेसा व्यवसायमा रहेका आम नागरिकका लागि यो पुस्तक उपयोगी छ।’’

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले नागरिकलाई सुसूचित गराउने उद्देश्यले साइबर सुरक्षा नामक पुस्तक सार्वजनिक गरेको हो। कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरण सञ्चालक समितिका सदस्य कृष्ण पोखरेल, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहाल, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले साइबर सुरक्षाका बारेमा प्रकाशित पुस्तक उपयोगी रहेको बताउनुभयो। यस्ता प्रकाशनले प्रादेशिक संरचनालाई बलियो बनाउन मद्दत पुर्‍याउन सक्ने उहाँहरूले बताउनुभयो।

साइबर सुरक्षा पुस्तकमा साइबर सुरक्षाको महत्त्व, साइबर सुरक्षाको उद्देश्य, गोपनीयताको रक्षा, अखण्डता, उपलब्धता जस्ता विषय समेटिएका छन्। साइबर अपराधका प्रकार र अपराधीका नियत, साइबर आक्रमणलाई पुस्तकमा पहिल्याउने कोसिस गरिएको छ। पुस्तकमा साइबर अपराधका बहुआयामिक, प्राविधिक, मानवीय,भौतिक र तेस्रो पक्षको चुनौतीलाई केलाउने प्रयास गरिएको छ।

डिजिटल साक्षरता, अनलाइन पत्रकारिता, मिडिया साक्षरता र सामाजिक सञ्जालमा गहिरो अध्ययन गर्नुभएका प्रवेश सुवेदीले सम्पादन गर्नुभएको उक्त पुस्तकको सहलेखनमा एसिया प्यासिफिक स्कुल अफ इन्टरनेट गभर्नेन्सका उपाध्यक्ष अधिवक्ता बाबुराम अर्याल, बेलायतमा साइबर सुरक्षा सल्लाहकारमा कार्यरत गङ्गालाल चपाई (निकेश), काठमाडौ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागमा भिजिटिङ फयाकल्टीका रूपमा कार्यरत रविराज बराल रहनुभएको छ।

सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशले यसअघि उहिलेको पत्रकारिता, डिजिटल साक्षरता र अनलाइन पत्रकारिता सम्बन्धी पुस्तक प्रकाशित गरेको छ। सञ्चार रजिष्ट्रार कार्यालयले नेपालमा पहिलो पटक विधागत पत्रकारिता सम्बन्धी अध्ययन पुस्तक र उहिलेको पत्रकारिता भाग दुई पनि तयार गरेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्