उत्पादनका आधारमा अनुदान दिन थालेपछि अदुवा र बेसारखेतीतर्फ कृषकको आकर्षण – Janadesh Daily | ePaper

उत्पादनका आधारमा अनुदान दिन थालेपछि अदुवा र बेसारखेतीतर्फ कृषकको आकर्षण


जनादेश, काठमाण्डौं । तनहँुको घिरिङ गाउँपालिकाका कृषक अदुवाखेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । निर्वाहमुखी खेती गरिरहेका कृषकलाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति कार्यान्वयनमा ल्याएको छ ।

घिरिङ–१ अत्रौलीका रोमनाथ पोख्रेलले केही समयदेखि निर्वाहमुखीरूपमा अदुवाखेती गर्नुभएकामा अहिले त्यसलाई व्यावसायिक बनाउनुभएको छ । हाल उहाँले दुई रोपनी क्षेत्रफलमा खेती गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “ रोपनीभन्दा माथिको जग्गामा खेती गर्नेलाई अनुदान दिने व्यवस्था ल्याएपछि खेतीलाई विस्तार गरेँ । अनुदानले हामीजस्ता कृषकलाई राहत मिल्छ ।”

घिरिङ –२ चिन्नेखोलाका शेरबहादुर थापाले पनि सुरुमा निर्वाहमुखी रूपमा मात्रै अदुवाखेती गर्नुभएकामा गत वर्षदेखि अदुवाखेतीलाई व्यावसायिक बनाउनुभएको छ । घिरिङ गाउँपालिकाले अदुवाखेती गर्ने कृषकलाई अनुदानको व्यवस्था गरेपछि थापाले अदुवाखेतीलाई व्यावसायिक बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “अदुवाखेती गरेको त थुप्रै वर्ष भयो तर बेच्ने हिसाबले भन्दा पनि आफैँले प्रयोग गर्ने गरी खेती गरिरहेको थिएँ । तर स्थानीय सरकारले व्यावसायिकरूपमा खेती गर्नेलाई अनुदान दिने व्यवस्था मिलाएपछि यसलाई व्यावसायिक बनाउनेतर्फ लागेँ ।” हाल उहाँले चार रोपनी क्षेत्रफलमा अदुवाखेती गरिरहनुभएको छ ।

घिरिङ गाउँपालिकाले अदुवा र बेसारखेती गर्ने कृषकलाई अनुदानको व्यवस्था मिलाएपछि कृषक यसतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले एक सय ४४ जना अदुवा कृषकलाई प्रतिव्यक्ति रु पाँच हजारका दरले रु सात लाख २० हजार वितरण गरेको छ ।

गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङमा उत्पादित अदुवा विभिन्न जिल्लामा निर्यात गर्न सकिने बताउँदै कृषक व्यावसायिक बन्नुपर्ने उल्लेख गर्नुभयो । प्याज पाँच सय किलो, लसुन दुई सय ५० किलो र बेसार पाँच सय किलोभन्दा बढी उत्पादन गर्नेलाई समेत रु पाँच हजार अनुदान दिने व्यवस्था गरिएको अध्यक्ष थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषकलाई कृषिमा प्रोत्साहन गर्न यो कार्यक्रम सुरु गरिएको हो ।”

सबैभन्दा बढी वडा नं ५ का कृषकले सो अनुदान प्राप्त गरेका छन् । वडा नं ५ मा ८९ जना, वडा नं ४ मा दुई, वडा नं ३ मा ४७ र वडा नं २ का छ जना कृषकले उक्त रकम प्राप्त गरेको कृषि शाखा प्राविधिक सहायक समीक्षा ढकालले जानकारी दिनुभयो ।

यसैगरी जिल्लाको व्यास नगरपालिका–८ रिस्तीका कृषक बेसारखेतीमा आकर्षित भएका छन् । अन्य खेती बाँदरले खाएर हैरान भएपछि त्यसको विकल्पमा कृषकले बेसारखेती सुरु गरेका छन् । बीस जना कृषकले दुई सय रोपनी जग्गामा बेसारखेती गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । जग्गा बाँझो नराख्न र आयआर्जनमा जोड्ने उद्देश्यले कृषकलाई बेसारखेतीका लागि प्रोत्साहन गरिएको तिवारीको भनाइ छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्