काठमाडौँ महानगर र सङ्घको सहकार्यमा प्रशिक्षक प्रशिक्षण सुरु – Janadesh Daily | ePaper

काठमाडौँ महानगर र सङ्घको सहकार्यमा प्रशिक्षक प्रशिक्षण सुरु


काठमाडौँ महानगरपालिकाले  बागमती प्रदेश क्रिकेट सङ्घको सहकार्यमा क्रिकेट खेल प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ ।

गत भदौ २९ गते महानगर र सङ्घबीच भएको सम्झौताअनुसार  सोमबारदेखि सुरु भएको प्रशिक्षणमा सामुदायिक विद्यालयका माध्यमिक तहका खेल शिक्षक र प्रतिनिधिलाई प्रशिक्षणमा सहभागी गराइएको महानगरका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो ।   प्रशिक्षणमा ५० जना क्रिकेट प्रशिक्षकलाई तालिम दिइ  उहाँहरूमार्फत खेलाडीलाई सीप सिकाउनु उद्देश्य रहेको महानगरको भनाइ छ ।

“प्रशिक्षणमा सैद्धान्तिक कक्षासहित एम्बेसी पार्कमा प्रयोगात्मक प्रशिक्षण हुनेछ । साथै सैद्धान्तिक कक्षामा प्रशिक्षकको भूमिका, शारीरिक तन्दुरुस्ती, निर्णायक, ब्याटिङ, बलिङ, विकेट किपिङबारे जानकारी दिइनेछ”, आचार्यले भन्नुभयो ।

उहाँहरुलाई राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक अनिल अधिकारी, क्रिकेट प्रशिक्षक ९लेभल–३० राजु बस्नेत, लेभल–२ का प्रशिक्षकहरु कलाम अली, मनोज कटुवाल, रिकेश लामा, सुजन महर्जन, निर्णायक विनय झालगायतले प्रशिक्षण दिनुहुनेछ ।

प्रशिक्षणसँगै सङ्घले वडा स्तरमा ‘क्रिकेट नेट’ राख्न प्राविधिक सहयोग उपलब्ध गराउनेछ । यो काम तीन महिनाभित्र सम्पन्न हुनेछ । यसका लागि महानगरले रु १० लाख उपलब्ध गराउने छ । यसरी उपलब्ध गराइने रकम काम थालनी भएपछि ४० प्रतिशत र बाँकी प्रगतिका आधारमा उपलब्ध गराइनेछ ।

अनुगमन तथा मूल्याङ्कन समिति वा खटाइएका कर्मचारीले सम्पादित कार्यको समय९समयमा अनुगमन तथा मूल्याङ्कन गर्ने व्यवस्था गरिएको छ ।

चालु आर्थिक वर्षमा महानगरले एक टोल एक खेलकुद पूर्वाधार निर्माण तथा समग्र खेलकुद क्षेत्र विकासका लागि स्वर्णिम योजनासहितको कार्यक्रम सञ्चालन गर्नका लागि रु १० करोड ५० लाख रकम विनियोजन गरेको छ  ।

त्यस्तै एक वडा एक नमूना उद्यान कार्यक्रम सञ्चालन गर्नका लागि रु एक करोड रकम विनियोजन गरेको छ ।  महानगरले चालु आर्थिक वर्षमा विशेष महत्वका साथ दशवटा विषयगत क्षेत्रका गौरवका योजना छनोट गरेको छ । त्यसका लागि रु तीन अर्ब ८० करोड र २५ स्वर्णिम योजनाका लागि रु दुई अर्ब रकम विनियोजन गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्