मन्त्रिपरिषद् बैठकः दुई आयोगका पदाधिकारी नियुक्ति सिफारिस समिति गठन – Janadesh Daily | ePaper

मन्त्रिपरिषद् बैठकः दुई आयोगका पदाधिकारी नियुक्ति सिफारिस समिति गठन


काठमाडौँ। सरकारले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षसहित सदस्यको नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको सिफारिस गर्न सिफारिस समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

सिफारिस समितिमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगका सदस्य, मानवअधिकारकर्मी, मनोविज्ञानवेत्ता, कानुनविद्, विधिविज्ञान विज्ञ तथा महिला अधिकारकर्मी, समाजशास्त्री, द्वन्द्वविद्, शान्ति प्रक्रियामा संलग्न व्यक्तिमध्येबाट सदस्य रहने व्यवस्था छ ।

बैठकले संसद्को चालु अधिवेशन आगामी वैशाख २ गते मध्यरातदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्ले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । बैठकले संयुक्त राज्य अमेरिकाको ओहायो राज्यका लागि डा दामोदर पौडेललाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्