‘कलात्मक भन्दा मनोरञ्जनात्मक चलचित्रमा दर्शकको आकर्षण’ – Janadesh Daily | ePaper

‘कलात्मक भन्दा मनोरञ्जनात्मक चलचित्रमा दर्शकको आकर्षण’


काठमाडौँ। गत वर्ष कलात्मक वा बजारलाई ध्यान राखेर बनाइएको कमै चलचित्र प्रदर्शन भएका छन् । ‘हल्कारा’, ‘डाकिनी’, ‘जुलेबी’लगायात केही चलचित्र प्रदर्शन हुँदा चलचित्र भवनमा दर्शकको अभाव देखियो । चलचित्रले समीक्षात्मक रूपमा राम्रो चर्चा बटुले पनि व्यावसायिक रूपमा निकै कमजोर व्यापार गर्‍यो ।

गत वर्षको चैत ३० देखि प्रदर्शनरत चलचित्र ‘द रेड सुटकेस’ले कस्तो व्यापार गर्छ यो भने हेर्न बाँकी छ । सुरुआती व्यापार भने यसको पनि कमजोर देखिएको छ । वर्षभर सफल भएका चलचित्रको सूचीमा हाँस्य विधा (कमेडी जनरा)मा निर्मितकै सङ्ख्या बढी छ ।

‘जारी’ले कलात्मक र व्यावसायिक दुवै पाटोमा सफलता पाएको थियो । त्यसपछि प्रदर्शन गरिएका ‘पशुपति प्रसाद २ः भष्मे डन’, ‘दिमाग खराब’, ‘परदेशी २’, ‘नाङ्गो गाउँ’, ‘महाजात्रा’ व्यावसायिक रूपमा सफल भएका थिए ।

उल्लेखित अधिकांश चलचित्रमा सामाजिक विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ । कोरोना महामारीपश्चात् डिजिटल प्लेटफर्मको प्रयोग नेपालमा पनि बढेको थियो । विश्वभरका चलचित्र हेरेर भिन्न–भिन्न स्वाद लिए पनि दर्शक रमाइला चलचित्रमा नै केन्द्रित देखिएका चलचित्र लेखक तथा समीक्षक सामीप्यराज तिमल्सेनाको विश्लेषण छ । कोरोना महामारीपछि चलचित्र साक्षरता बढेको मानिए पनि त्यसको प्रभाव नदेखिएको उहाँले बताउनुभयो ।

“विश्वका चलचित्र महोत्सवमा पुगेका चलचित्रमा दर्शकको आकर्षण नदेखिनुले उहाँहरू चलचित्र भवनमा विसुद्ध मनोरञ्जन लिन पुग्नुहुन्छ भन्ने स्पष्ट सङ्केत गरेको छ । शृङ्खलाबद्ध र रमाइला चलचित्रमा दर्शकको उपस्थिति देखियो”, लेखक तिमल्सेनाले भन्नुभयो, “निर्माता र निर्देशकले एकै किसिमका चलचित्र भने दिनु हुँदैन । केही फरक गरिरहनु पर्छ । नत्र विस्तारै चलचित्रप्रति आकर्षण घट्न सक्छ ।”

निर्देशक रामबाबु गुरुङले दर्शकले रुचाउनुभएसम्म शृङ्खला बनिरहने जानकारी दिनुभयो । ‘कबड्डी’ शृङ्खलालाई अगाडि बढाउने तयारीमा रहनुभएका निर्देशक गुरुङले कलात्मक वा फरक किसिमका चलचित्रमा अहिले निर्माताको रूपमा सहभागी रहेको बताउनुभयो ।

“म अहिले व्यावसायिक चलचित्रमा निर्देशक र कलात्मक चलचित्रमा निर्माताको रूपमा सहभागिता जनाइरहेको छु । एकैपटक दुवै विधालाई म अगाडि लाने सोचाइमा छैन । र दर्शकले रुचाएसम्म म मेरा चलचित्रलाई निरन्तरता दिन्छु”, उहाँले भन्नुभयो ।

कलात्मक भनिने चलचित्रमा परिचित अनुहार रहे पनि त्यसमा आकर्षण नहुनु सोचनीय विषय रहेको ‘प्रसाद’ शृङ्खलाका लेखक सुशील पौडेलले बताउनुभयो । “कलात्मक भनेर निर्माण हुने चलचित्रले दर्शकलाई बाध्न सक्नुपर्छ । दर्शकलाई एउटा चलचित्र मन परेन भने पुनः फर्काउन गाह्रो हुन्छ । मनोरञ्जनात्मक चलचित्रको तुलनामा कलात्मक भनिने ‘आर्ट’ चलचित्रले बढी मेहनत गरेर दर्शकमैत्री हुनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

यो वर्ष ‘मनसरा’, ‘गाउँ आएको बाटो’, ‘राजागञ्ज’, ‘शाम्बाला’ जस्ता चलचित्र प्रदर्शन हुँदैछन् । यी चलचित्रको व्यावसायिक नतिजाले पनि अन्य चलचित्रकर्मीलाई बाटो देखाउने चलचित्रकर्मीको भनाइ छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्