दक्षिणी गाजामा इजराइली आक्रमण, अधिकांश बालबालिकासहित १३ को मृत्यु – Janadesh Daily | ePaper

दक्षिणी गाजामा इजराइली आक्रमण, अधिकांश बालबालिकासहित १३ को मृत्यु


दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् ।

गाजाका २३ लाख जनसङ्ख्याको आधाभन्दा धेरैले शरण मागेको रफाहमा इजराइलले करिब दैनिक आक्रमण गरेको छ । अमेरिकासहित अन्तर्राष्ट्रिय स्तरले संयमता अपनाउन आग्रह गरे पनि इजराइलले इजिप्टको सिमानामा रहेको रफाहमा आफ्नो स्थल आक्रमण विस्तार गर्ने वाचा गरेको छ ।

कुवैती अस्पतालका अनुसार पहिलो आक्रमणमा एक पुरुष, उनकी पत्नी र उनीहरूको तीन वर्षीय बालकको मृत्यु भएको छ । अस्पतालले महिला गर्भवती रहेको र चिकित्सकहरू बच्चालाई बचाउन सफल रहेको बताएको छ ।

अस्पतालको रेकर्डअनुसार दोस्रो आक्रमणमा एउटै परिवारका आठ बालबालिका र दुई महिलाको मृत्यु भएको छ । अघिल्लो रात रफाहमा भएको हवाई आक्रमणमा छ बालबालिकासहित नौ जना मारिएका थिए ।

स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार इजराइल–हमास युद्धमा ३४ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् भने गाजाका दुई सबैभन्दा ठूला सहर ध्वस्त भएका छन् र सम्पूर्ण क्षेत्रमा विनाश भएको छ । करिब ८० प्रतशित जनसङ्ख्या आफ्नो घरबाट भागेर घेरिएको तटीय क्षेत्रका अन्य भागमा गएका छन् । विशेषज्ञहरूले ती क्षेत्र भोकमरीको सङ्घारमा रहेको बताएका छन् ।

सातौँ महिनामा चलिरहेको युद्धले क्षेत्रीय अशान्ति फैलाएको छ । यसबाट इजराइल र अमेरिका सम्पूर्ण मध्यपूर्वमा इरान र सम्बद्ध लडाकू समूहहरूविरुद्ध खडा भएका छन् । यसै महिनाको प्रारम्भमा इजराइल र इरानबीच प्रत्यक्ष गोलीबारी हुँदा लामो समयदेखिको उनीहरूको शत्रुताले युद्धको डर बढाएको छ ।

इजराइलले कब्जा गरेको वेस्ट बैंकमा पनि तनाव बढेको छ । इजराइली सेनाका अनुसार सैनिकहरूले आइतबार बिहानै दक्षिणी वेस्ट बैंक सहर हेब्रोन नजिकै एक जाँच चौकीमा चक्कु र बन्दुकले आक्रमण गर्ने दुई प्यालेस्टिनीलाई ‘निष्क्रिय’ बनाएको बताएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा युद्ध सुरु भएपछि वेस्ट बैंकमा इजराइली सैनिक र बसोबास गर्नेहरूबाट कम्तीमा चार सय ६९ प्यालेस्टिनी मारिएका छन् । अधिकांश मानिस इजराइली सैन्य गिरफ्तारी छापा मार्ने क्रममा मारिएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्