नेपालमा स्पेनी लगानी बढाउन अध्यक्ष ढकालको आग्रह – Janadesh Daily | ePaper

नेपालमा स्पेनी लगानी बढाउन अध्यक्ष ढकालको आग्रह


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त अवसर भएकाले स्पेनी लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा शुक्रबार बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेप सान्ताक्रेउ बोन्जोचसँगको भेटमा ढकालले नेपालमा स्पेनको लगानी बढाउन आग्रह गरेका हुन् ।

भेटमा ढकालले नेपाल र स्पेनबीचको व्यापारको तथ्याङ्कलाई पनि प्रकाश पार्दै बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्षलाई दुई च्याम्बरले व्यापार र लगानीका लागि कसरी राम्रो सहकार्य गर्न सकिन्छ भन्ने उपाय खोज्न आग्रह गरे । उनले दुई चेम्बरबीच राम्रो सम्बन्ध कायम भएमा नेपालले स्पेनमा निर्यात बढाउन सहयोग पुग्ने बताए ।


ढकालले पछिल्लो दशकमा नेपालको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४ प्रतिशत देखि ६ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिए ।
महासंघको पहलमा सरकारले आठ वटा लगानी ऐन परिमार्जन गरेको बताउँदै ढकालले यी सुधारहरू विदेशी लगानीका लागि थप अनुकूल वातावरण सिर्जना गर्न र नेपालमा व्यापार गर्न सहजता सुनिश्चित गर्न गरिएको जनाए ।

अध्यक्ष ढकालले बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्षलाई नेपालमा सबै क्षेत्रमा लगानीको प्रशस्त अवसर रहेको जानकारी गराए । उनले भारत र चीनबीचको नेपालको रणनीतिक स्थानले विश्वका दुई ठूला बजारमा व्यापार र लगानीका लागि अनुपम अवसरहरू उपलब्ध गराएको उल्लेख गरे ।

“हामीले विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले खुला र उदार व्यापार नीति लिएका छौं,” उनले भने ।

सो भेटमा महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले साझेदारी कायम गर्न सके दुवै चेम्बरका लागि फाइदा हुने बताए ।

यसैबीच, बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष बोन्जोचले दुई चेम्बरबीच राम्रो सहकार्य हुन सक्नेमा आफू विश्वस्त रहेको बताउँदै साझेदारीका लागि पहल गर्ने जनाए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्