असारयता डेंगु सङ्क्रमण बढ्दै, १३ सय भन्दा बढी संक्रमित – Janadesh Daily | ePaper

असारयता डेंगु सङ्क्रमण बढ्दै, १३ सय भन्दा बढी संक्रमित


यही साउन १० गते तनहुँको व्यास नगरपालिकाका–७ का ४८ वर्षीय पुरुषको डेंगु सङ्क्रमणबाट निधन भयो । यसको दुईसातापछि गत शनिबार हल्दीबारी गाउँपालिका–३ झापाकी ४२ वर्षीया शिक्षिकाले डेंगुकै कारण ज्यान गुमाउनुपर्यो । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गत वर्ष नेपालमा डेंगु सङ्क्रमणबाट २० जनाको मृत्यु भएको थियो ।

यस वर्षपनि गत असारयता डेंगु सङ्क्रमण बढ्दै गएको छ । ७३ जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका जिल्ला पनि यसबाट अछुतो छैनन् । तनहुँ, कास्कीलगायत जिल्ला डेंगु सङ्क्रमणबाट बढी प्रभावित छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार गत आइतबारसम्म गण्डकीका दस जिल्लामा गरि १३ सय जनाभन्दा बढीमा डेंगुको सङ्क्रमण पुष्टि भएको छ ।

मुस्ताङबाहेक प्रदेशका सबै जिल्लामा डेंगुको सङ्क्रमण पुष्टि भएको निर्देशनालयका सूचना अधिकारी नवराज शर्माले जानकारी दिए । उक्त अवधिसम्ममा सबैभन्दा बढी तनहुँमा पाँच सय ५२ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो । तनहुँपछि कास्की डेंगुबाट बढी प्रभावित देखिन्छ । गत बुधबार मात्र कास्कीमा ४० जना डेंगु सङ्क्रमित भेटिएका थिए ।

गत आइतबारसम्मको तथ्याङ्कअनुसार गोरखामा एक सय ११, बागलुङमा ८६, पर्वतमा ६६, लमजुङमा ५५, म्याग्दीमा ४१, स्याङ्जामा ३६, नवलपुरमा ११ र मनाङमा मात्र एक जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । गत जुलाई महिनामा छ सय ४३ जना सङ्क्रमित भेटिएकामा अगष्टको दोस्रो साता नबित्दै पाँच सयभन्दा बढीमा डेंगुको सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

गत जनवरीमा ७० जनामा डेंगुको सङ्क्रमण भएकामा त्यसयता घट्दै आएर जुन महिनामा ८७ बाट पुनः सङ्क्रमितको संख्या थपिँदै आएको हो । पछिल्लो दुई महिनामा डेंगु सङ्क्रमणको दरलाई हेर्दा आगामी दिनमा सङ्क्रमणको जोखिम थप तीव्र हुने देखिएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले बताए ।

उनका अनुसार असारदेखि कात्तिकसम्म डेंगुको सङ्क्रमण बढी फैलने गर्छ । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेंगुले महामारीको रुप लिन सक्ने प्रमुख नेपालीले बताए । ‘डेंगुलाई सामान्य रुपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्’, उनले भने, ‘डेंगु भइसकेपछि अचाक्ली पीडा र दर्द हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ ।’

उनले पछिल्लो समय प्रदेश राजधानी पोखरामा डेंगु तीव्र रुपमा फैलिएको बताए । डेंगु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए । चार प्रकारको भाइरसबाट मानिसमा डेंगु सङ्क्रमण हुने गरेको उनले बताए ।

धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेंगु सङ्क्रमण हुँदैमा आत्तिहाल्नु चाहिँ नपर्ने बताए । डेंगु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने उनको भनाइ छ । डेंगु भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रशस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने प्रमुख चिकित्सक प्रधानले बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्