ताप्लेजुङ गोल्डकपः टिकट बिक्रीबाट १३ लाख बढी आम्दानी – Janadesh Daily | ePaper

ताप्लेजुङ गोल्डकपः टिकट बिक्रीबाट १३ लाख बढी आम्दानी


ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा टिकट बिक्रीबाट अहिलेसम्म रु १३ लाख ६३ हजार सात सय सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनलसम्मको खेलहरूमार्फत उक्त रकम सङ्कलन भएको हो ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार शुक्रबार र शनिबार दुई दिनमा मात्रै सेमिफाइनल खेलहरूबाट रु ६ लाख ५२ हजार ८ सय सङ्कलन भएको थियो । शनिबारको खेलबाट मात्र रु ३ लाख ४४ हजार र शुक्रबारको खेलबाट रु ३ लाख ३ हजार ८ सय सङ्कलन भएको उनले जानकारी दिए ।

यसअघि, क्वार्टरफाइनल चरणका चार खेल सम्पन्न हुँदा रु ७ लाख १० हजार ९ सय रकम सङ्कलन भएको थियो । सेमिफाइनल खेलका लागि टिकट दर प्रतिव्यक्ति रु २ सय तोकिएको थियो भने क्वार्टरफाइनल खेलमा रु १ सय राखिएको थियो । फाइनल खेल यही भदौ १० गते सोमबार सम्पन्न हुनेछ । फाइनल खेल हेर्नका लागि टिकट दर रु २ सय ५० निर्धारण गरिएको आयोजकले जनाएको छ ।

समितिका अध्यक्ष देवराज गुरुङले यस वर्ष टिकट बिक्रीबाट रु २० लाखसम्मको आम्दानी गर्ने लक्ष्य राखिएको बताए । प्रतियोगिताको विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित रु ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले रु २ लाख ५० हजार ५ सय ५५ नगद पुरस्कार पाउनेछन् । टिकट बिक्रीबाहेक प्रतियोगिताका लागि अन्य माध्यमबाट आर्थिक सहयोग सङ्कलन भइरहेको समितिले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्