पारा ओलम्पिकमा कांस्य जितेकी गोवर्धनलाई ६५ लाख पुरस्कार पाउने – Janadesh Daily | ePaper

पारा ओलम्पिकमा कांस्य जितेकी गोवर्धनलाई ६५ लाख पुरस्कार पाउने


शुक्रबार मध्यराति खेलकुदमा नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्‍यो । यो उपलब्धि तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले दिलाएकी हुन् । उनले पेरिस पारा ओलम्पिकमा कांस्यपदक जित्दै नेपाललाई अन्तर्राष्ट्रिय खेलकुदमा ऐतिहासिक पदक दिलाइन् ।

ओलम्पिक संरचनामा नेपाली खेलाडीले पदक जित्नु निकै गाह्रो हुन्छ । त्यसमाथि पारा खेलाडीको हैसियतमा त यो उपलब्धि हासिल गर्नु झन् कठिन मानिन्छ । तर, कयौँ चुनौतीका बाबजुद पलेशाले दोस्रो ओलम्पिक सहभागितामै नेपाललाई पदक दिलाएरै छाडिन् । उनले पेरिसको ग्रान्ड प्यालेसमा शुक्रबार राति नेपाललाई ऐतिहासिक पदक दिलाएकी हुन् ।

पलेशाले पारा तेक्वान्दोको के–४४ क्याटागोरीको महिला ५७ केजी तौल समूहमा सर्बियाकी मरिजा मिचेभविरुद्ध १५–८ स्कोरको नतिजा निकाल्दै कांस्य जितिन् । उनी क्वाटरफाइनलमा ब्राजिलकी विश्व नम्बर वान खेलाडी कार्डोसो फर्नान्डेजसँग १०–८ को स्कोरमा पराजित भएकी थिइन् । यदि उक्त खेलमा पराजय नबेहोरेको भए पलेशा माथिल्लो पदकसम्म पुग्ने थिइन् ।

त्यो सफलता हात नपारे पनि उनी रिपिचेजबाट कांस्यमा पुगेकी थिइन् । नेपालले पहिलोपटक सन् १९६४ को टोकियोमा भएको समर ओलम्पिक्समा सहभागिता जनाएको थियो । तर, यसबीचमा कुनै पनि खेलाडीले एक खेलसमेत जित्न सकेका छैनन् । यसपालि भने पलेशाले वर्षौंदेखि पदक जित्ने नेपालको सपना पूरा गरिदिइन् । पेरिस पारा ओलम्पिकमा सहभागी हुनुभन्दा झन्डै एक महिना उनले बेलायतमा प्रशिक्षण गरेकी थिइन् ।

जन्मँदै बायाँ हातको नाडीदेखि तलको भाग नभएकी पलेशाले एसियाली खेलकुदमा ऐतिहासिक कांस्य र एसियाली ओलम्पिक छनोट चरणमा स्वर्ण जितिसकेकी छन् । र, उनले अब पारा ओलम्पिकमा कांस्य पदक जित्दै आफू थप अब्बल भएको प्रमाणित गरेकी छन् । कांस्य विजेता पलेशाले सरकारबाट ठूलो राशिमा पुरस्कारसमेत पाउने भएकी छन् ।

राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ मा भएको पुरस्कारसम्बन्धी व्यवस्थाअनुसार उनले ६५ लाख रुपैयाँ नगद पुरस्कार पाउने भएकी हुन् । सोही नियमावलीको पुरस्कारअनुसार चीनको हाङझाउमा भएको चौथो एसियाली पारा खेलकुदमा कांस्य जितेकी पलेशाले १३ लाख रुपैयाँ पुरस्कार पाएकी थिइन् ।

यस्तै, कांस्य जिताएवापत प्रशिक्षक कविराज नेगीले ५ लाख ८५ हजार, व्यवस्थापक रामचन्द्र श्रेष्ठले २ लाख ९२ हजार र तेक्वान्दो संघले ११ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्