नेसन्स लिगमा रोनाल्डोको कीर्तिमानी गोल, पोर्चुगलको सहज जित – Janadesh Daily | ePaper

नेसन्स लिगमा रोनाल्डोको कीर्तिमानी गोल, पोर्चुगलको सहज जित


कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा विजयी सुरुआत गरेको छ ।

बिहीबार राति भएको युइएफए नेसन्स लिगको रोनाल्डोको कीर्तिमानी गोलको मद्दतले पोर्चुगलले क्रोएसियामाथि २–१ को जित हासिल गर्दै उत्कृष्ट सुरुआत गरेको हो ।

रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको पोर्चुगलको टोलीलाई रोनाल्डो र डियोगो डालोटको गोलको मद्दतले जितायो । जितसँगै पोर्चुगलले समूह ‘ए’ मा तीन अंक जोडेको छ ।

खेलको प्रारम्भिक सातौं मिनेटमै म्यान्चेस्टर युनाइटेडका डिफेन्डर डियोगो डालोटले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाए । डालोटले ब्रुनो फर्नान्डेजको पासलाई गोलमा परिणत गर्दै अग्रता दिलाएका हुन् ।

खेलको ३४औँ मिनेटमा कप्तान रोनाल्डोले ऐतिहासिक ९००औँ गोल गरेपछि पोर्चुगलको अग्रता दोब्बर भयो । मिकेल मन्डेसको क्रसलाई रोनाल्डोले हेडरमार्फत गोलमा परिणत गर्दै आफ्नो करियरको एक महत्वपूर्ण माइलस्टोन पार गरे ।

यस गोलसँगै रोनाल्डो ९०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यस कीर्तिमानसँगै रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको रेकर्डसमेत कायम भएको छ ।

खेलको ४१औँ मिनेटमा क्रोएसियाले एक गोल फर्काउने मौका पायो । क्रोएसियाका खेलाडीले एक क्रस दिएपछि पोर्चुगलका डालोटले आत्मघाती गोल गरे, जसले पहिलो हाफमा खेलको स्कोरलाई २–१ मा पुर्‍यायो ।

दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसकेपछि खेल २–१ को स्कोरमा समाप्त भएको थियो । ​यसैबीच, समूह ‘ए’ को अर्को खेलमा पोल्याण्डले स्कटल्याण्डलाई ३–२ गोलले हरायो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्