जनादेश, काठमाण्डौ ।
नेपाल सरकार र विश्व बैंकबीच विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि करिब एक अर्ब सत्ताइस करोड रुपैयाँ (एक करोड पचासी लाख अमेरिकी डलर) सहयोग सम्झौता सम्पन्न भएको छ ।
अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपाल-माल्दिभ्स-श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोसले शुक्रबार सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यो रकम नोवेल कोरोना भाइरस (कोभिड-१९) संकटकाबीच आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन खर्च गरिने सम्झौतामा उल्लेख छ ।
सहसचिव नेपालले अनुदान रकम महामारीले गर्दा प्रभावित बालबालिकाको सिकाइलाई निरन्तरता दिन र विद्यार्थी तथा शिक्षकमा परेको मनोवैज्ञानिक प्रभाव कम गर्न उपयोगी हुने बताए ।