रुकुम ।
रुकुम (पूर्व) मा यस वर्ष आलु उत्पादनमा कमी आएको छ । सबैभन्दा बढी आलु उत्पादन हुने जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकामा यस वर्ष आलु उत्पादनमा आधाभन्दा बढीले कमी आएको छ ।
गत वर्ष गाउँपालिकाभरमा एक हजार २०० देखि एक हजार ५०० क्विन्टलसम्म आलु उत्पादन भएकोमा यस वर्ष भने जम्मा ७०० देखि ८०० क्विन्टलमात्र उत्पादन भएको गाउँपालिकाले जनाएको छ ।
गत वर्षको तुलनामा यस वर्ष ३५ देखि ४० प्रतिशतले आलु उत्पादनमा गिरावट आएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक सहायक सन्तोष ओलीले बताउनुभयो ।
गएको वर्षमा २२ क्विन्टल आलु उत्पादन गर्नुभएका वडा नम्बर १० का मोनध्वया रोकाले यस वर्ष भने जम्मा १६ क्विन्टल मात्र आलु उत्पादन भएको बताउनुभयो ।
उहाँजस्तै वडा नम्बर १ मैकोटकी समसाली पुन पनि आलु उत्पादनमा कमी आउँदा चिन्तित हुनुहुन्छ । अहिले मात्र नभई बर्सेनि आलु उत्पादनमा गिरावट आएको किसानहरुले बताएका छन् ।
यहाँ उत्पादित आलु जिल्लाको विभिन्न ठाउँका साथै, रुकुम(पश्चिम), दाङ, बागलुङ र काठमाडौँसमेत पुग्ने गरेको छ ।