जनादेश, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पाँचौ अन्तरपार्टी निर्देशन जारी गरेको छ । पार्टीभित्रको अनुशासनमा पनि कडाइ गर्ने गरी सर्कुलर गरिएको हो ।
पार्टीको हालै सम्पन्न स्थायी कमिटीको पाँचौ बैठकपछि सो निर्देशन जारी गरिएको हो । नेता र कार्यकर्ताबीच सार्वजनिक रूपमा गरिने तथ्यहीन र अमर्यादित आरोप–प्रत्यारोप बन्द गर्ने, आफ्नो मत वा असहमति कमिटी प्रणालीअन्तर्गत मर्यादित रूपमा राख्ने, गुटबन्दीपूर्ण क्रियाकलाप नगर्ने सर्कुलरमा उल्लेख छ ।
गुटगत गतिविधिलाई संरक्षण, प्र श्रय र प्रोत्साहन नदिने, अनेकता, अराजकता, अनुशासनहीनता र गुटबन्दीपूर्ण कार्यलाई अनुशासनात्मक कारबाहीको विषय बनाउने जनाइएको छ। पार्टी विधानबमोजिम कारबाही गर्ने पनि दुई अध्यक्षले स्पष्ट पारेका छन्।
स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबाट प्रस्तुत प्रस्तावका सम्बन्धमा गम्भिरतापूर्वक छलफल भएको थियो । बैठकले उक्त प्रस्ताव आवश्यक सुझावसहित सर्बसम्मतिका साथ पारित गर्ने निर्णय गरेको छ ।