एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)टी-ट्वान्टी क्रिकेटको दोश्रो दिनको खेलमा भारतीय राष्ट्रिय टोलीका कप्तान बिराट कोहोलीको कप्तानमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ ।
दुबई सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले सुखद् सुरुवात गरेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्य पच्याएको हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटिएपछि बैंगलोरले विजयी सुरुवात गरेको हो ।
हैदराबादका लागि जोनी बेयरस्टोले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै मनिस पाण्डेले ३४ तथा प्रियाम गार्गले १२ रन बनाए । कप्तान डेभिड वार्नर ६ रनमा आउट भए ।
हैदराबादका युजभेन्द्र चाहलले ३ विकेट लिए । शिवम डुबे र नाभदिप सैनीले २/२ विकेट लिए । डेल स्टेनको नाममा एक विकेट रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।
बैंगलोरका लागि डेभदत्त पडीक्कल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले ।
डेब्यु खेलाडी पडीक्कलले बैंगलोरका लागि ५६ रनको उत्कृष्ट इनिङ्स खेले । पहिलो विकेटका लागि २० वर्षीय पडीक्कलले आरोन फिन्चसँग ९० रनको साझेदारी गरे । फिन्च २९ रनमा आउट भए ।
यस्तै डी भिलियर्सले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान विराट कोहली १४ रनमा आउट हुँदा शिवम डुबेले ७ रन बनाए ।
हैदराबादका विजय शंकर, थानगारासु नटराजन र अविशेक शर्माले १/१ विकेट लिएका थिए ।