एजेन्सी ।
इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटको मंलबारको खेलमा नेपालका सन्दीप लामिछाने सम्बद्ध दिल्ली क्यापिटल्सले पहिलो हार ब्यहोरेको छ ।
मंगलबार राती भएको खेलमा सनराइजर्स हैदराबादका रसिद खान चम्किएपछि दिल्ली १५ रनले पराजित भएको हो । रसिद खानको घातक बलको सहयतामा हैदराबादले भने लगातार दुई हारपछि पहिलो जित हात पारेको हो।
सनराइजर्स हैदराबादले एक सय ६३ रनको लक्ष्य दिएपनि रसिद खानको बलिङ सामु दिल्लीका माथिल्लो क्रमका ब्याट्सम्यान टिक्न सकेनन्।
दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ४७ रन जोड्यो। रसिदले चार ओभरमा १४ रन खर्चिएर ३ विकेट हात पारे। उनले शिखर धवनलाई ३४, कप्तान श्रेयस अय्यरलाई १७ र रिसभ पन्तलाई ३२ रनमा आउट गरे। सिमरन हेटमेयरले २१, मार्कस स्टोइनिसले ११ र पृथ्वी सले २ रनमात्र जोड्न सके। भुवनेश्वर कुमारले २ तथा खलिल अहमद र टी नाटाराजनले एक एक विकेट हात पारे।
दिल्लीलाई अन्तिम पाँच ओभरमा जितका लागि ५९ रन चाहिएको थियो भने उसका हेटमेयर र पन्त ब्याटिङमा थिए। १६ औँ ओभरको पहिलो बलमा भुवनेश्वरले हेटमेयरलाई आउट गरे। १७ औँ ओभरको चौथो बलमा रसिदले रिसभलाई आउट गरे। १८ औँ ओभरको अन्तिम बलमा भुवनेश्वरले स्टोइनिसलाई आउट गरेपछि दिल्लीको जित असम्भवजस्तै बनेको थियो। दिल्लीले अघिल्ला दुवै खेल जितेको थियो।
त्यसअघि हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ६२ रन जोड्यो। हैदराबादका जोनी बेयर्स्टो सर्वाधिक ५३ रन बनाए। कप्तान डेभिड वार्नरले ४५ र केन विलियमसनले ४१ रन बनाए।
दिल्लीका बलर कागिसो राबडा र अमित मिश्राले दुई दुई विकेट लिए। राबडाले चार ओभरमा २१ रन मात्र खर्चिए।
दोस्रो स्थानमा रहेको दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ ।
अघिल्ला दुई खेलमा दिल्ली अपराजित रहेको थियो । दिल्लीले पहिलो खेलमा किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । दोस्रो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले हराएको थियो ।
यो पनि हेर्नुस्- संसारमासंसारमा अहिलेसम्मः ७६ लाख ८६ हजार सक्रिय कोरोना संक्रमित, १० लाख ११ हजारको निधन