जनादेश विश्लेषण ।
संसारमा अहिलेसम्म कुनै पनि देशमा कोरोनाको खोप बनेर त्यसले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन । रुसी खोप सफल भएको भन्दै मास ट्रायल हुँदै उत्पादनतर्फ उन्मुख भएको भनिएपनि विश्व स्वास्थ्य संगठनले यसलाई मान्यता दिइसकेको छैन ।
तर मंगलबारदेखि नेपालमा रुसबाट करोडौं डोज खोप आउन लागेको भनेर हेडलाइन समाचार बनेका छन् । त्यतिमात्र होइन अन्तर्राष्ट्रिय सञ्चार माध्यममा पनि हेडलाइन बनेका छन् ।
रुसले तयार पारेको कोरोनाविरुद्धको खोप ‘स्पुतनिक-भी’को साढे २ करोड डोज खोप खरिदका लागि रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) र नेपालको औषधि वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच सम्झौता भएको भन्ने समाचार मंगलबार देश र विदेशमा हेडलाइन बनेका छन् ।
‘स्पुतनिक–भी’ नोवेल कोरोना भाइरसविरुद्धको भ्याक्सिन हो । यो भ्याक्सिन आरडीआईएफको सहयोगमा सञ्चालित गामालेया नेशनल रिसर्च सेन्टरले उत्पादन गरेपनि विश्व समुदायले मान्यता दिएको छैन । मास ट्रायल परीक्षण पुरा हुनासाथ गत साउन अन्तिम साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाविरुद्ध रुसले पहिलो भ्याक्सिन बनाएको घोषणा गरेका थिए ।
‘स्पुतनिक–भी’ को अन्तिम चरणको परीक्षण आगामी अक्टोबर–नोभेम्बरमा पूरा हुने अपेक्षा गरिएको छ । र यो सफल भएर प्रभावकारी भएको प्रमाणित भएका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले उत्पादनका लागि स्वीकृति दिएपछि मात्र यसले अन्तर्राष्ट्रिय मान्यता पाउँछ ।
नेपालमा प्रयोग गर्न स्वीकृति दिएको औषधि वा खोप भए नेपालको औषधि व्यवस्था विभागले सम्पूर्ण कागजी प्रकिया सुरु गरेर ल्याउन अनुमति दिने गर्छ । तर विभागले अहिलेसम्म कुनै स्वीकृति प्रदान गरेको छैन ।
त्यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि स्पुतनिक–भी खोपबारे कुनै प्रक्रिया अघी नबढेको स्पष्ट पारिसकेको छ ।
यद्यपि भविष्यमा उत्पादन हुनसक्ने खोपका लागि ट्रिनिटी फर्मास्युटिकल्स नामक निजी कम्पनीले ल्याउने सम्झौता गरेको भने छ । यद्यपि यो कहिले बन्ने कहिले आउने भन्ने केही टुङ्गो लागेको छैन । खोपको अन्तिम परीक्षण सफल नभएसम्म यसको मूल्य पनि तोक्न मिल्दैन
संसारभर हेडलाइन
सिएनएन, रोयटर्स, द गार्डियन, युएसए टुडे, न्युज ट्वान्टी–फोर डटकम, स्विस इन्फो, कोभिड नाइन्टिन डेटालगायत विश्वभरका सञ्चारमाध्यमले रसियाबाट नेपालले दुई करोड ५० लाख डोज स्पुतनिक फाइभ भ्याक्सिन किन्न लागेको समाचार प्रकाशित गरेका छन्।
त्यस्तै, युएसए टुडेले रसियाली फन्ड र नेपालको निजी कम्पनीले भ्याक्सिन उपलब्ध गराउने सहमति गरेको उल्लेख गरेको छ ।
रोयटर्सले एक निजी फर्मका माध्यमबाट रसिया डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले नेपाललाई स्पुतनिक फाइभ भ्याक्सिन उपलब्ध गराउन सहमत भएको उल्लेख गरेको छ ।
यो पनि पढ्नुस्- कोरोनाविरुद्ध खोपः कुन देशको खोप कुन चरणमा, मूल्य कति