भारत-चीन सीमा विवाद मिल्ने होइन बल्झिने संकेत, वाकयुद्ध चर्कियो – Janadesh Daily | ePaper

भारत-चीन सीमा विवाद मिल्ने होइन बल्झिने संकेत, वाकयुद्ध चर्कियो


एजेन्सी ।

भारत र चीनबीच सीमाविवाद थप चर्किने संकेत देखिएको छ । पछिल्लो उच्चस्तरीय जुहारीले सीमा विवाद मिल्ने भन्दा बल्झिनेतर्फ उन्मुख रहेको देखिएको हो ।

चीनको विदेश मन्त्रालयले भारतद्वारा स्थापित कथित केन्द्र प्रशासित प्रदेश लद्दाखलाई चीनले मान्यता नदिने बताएको छ भने भारतले चीनको भनाइप्रति आपत्ति प्रकट गरेको छ । भारतले चीनको दाबीलाई अस्वीकार गरेको छ।

चीनका विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले लद्दाखलाई मान्यता नदिने बताए लगत्तै भारतको विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, ‘हामीले भारत–चीन वास्तविक नियन्त्रण रेखाबारे चीनको एक प्रवक्तालाई उद्धृत गर्दै लेखिएको रिपोर्ट देख्यौं। एकतर्फी रूपमा सन् १९५९ मा बनाएको एलएसीलाई भारतले कहिले पनि स्वीकार गरेको छैन। हाम्रो सधैं यही स्थिती रह्यो र चीनसमेत सबैलाई यो कुरा थाहा हुनुपर्छ।’

त्यस्तै जवाफमा भनिएको छ, ‘सन् २००३ सम्म दुवै तर्फबाट एलएसीको निर्धारण दिशामा कोसिस भइरह्यो, तर पछि चीनले यसमा रुचि देखाउन छाड्यो। जसका कारण यो प्रक्रिया रोकियो। त्यसैले अब चीनले एउटा मात्रै एलएसी छ भन्ने कुरालाई जोड दिनु उसले दिएको वचनको उल्लंघन हो।’

चीनको ग्लोबल टाइम्स दैनिकका अनुसार भारतको सीमासँग जोडिएको क्षेत्रमा सडक निर्माण भइरहेको छ। यसबारे वाङ वेनबिनले भने, ‘चीन विवादित सीमावर्ती क्षेत्रमा सैनिकद्वारा नियन्त्रणको उद्देश्यले आधारभूत ढाँचा निर्माणको विरोध गर्छ।’

भारतले आफूले पनि सन् १९५९ को एलसीलाई मान्यता नदिने चेतावनी समेत दिएको छ।

भारत सरकारले २०१९ अगस्ट ५ मा आफ्नो संविधानको धारा ३७० अनुसार भारत प्रशासित कस्मिरले पाउने विशेष राज्यको अधिकार अन्त्य गरेको थियो र राज्यलाई विभाजन गरेर दुई केन्द्र शासित प्रदेशमा बाँडेको थियो।
भारत र चीनबीच देखिएको पछिल्लो विवादले जुन महिनामा लद्दाखमा भारतीय २० सैनिक मारिने गरी भएको संघर्षपछि सम्बन्ध सामान्य स्तरमा पुग्नुको साटो थप तनावतर्फ उन्मुख रहेको देखाएको छ ।

यो पनि हेर्नुस्- चीनबारे अनर्गल प्रचार नगर्न भारतीय मिडियालाई बेइजिङको चेतावनी

चिनियाँ ग्लोबल टाइम्सको भारतलाई चेतावनीः चीनसँग भू-राजनीतिक खेल नखेल  

लद्दाखमा यसरी भएको थियो चिनियाँ र भारतीय सैनिकको झडप (भिडियोसहित) 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्