कुटपिटपछि मृत्यु प्रकरणमा हुद्दामाथि अनुसन्धान – Janadesh Daily | ePaper

कुटपिटपछि मृत्यु प्रकरणमा हुद्दामाथि अनुसन्धान


चितवन ।
जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । राप्ती नगरपालिका वडा नं २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार घटनामा संलग्न रहेको आरोपमा सेनाका हुद्दा पदमा कार्यरत चिरणबहादुर बुढालाई भदौ ४ गते पक्राउ गरी आवश्यक छानबिन भइरहेको छ । उनलाई अदालतबाट म्याद थप गरी बयान लिने र थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । मृतक राजकुमारका बुबा विष्णुलाल चेपाङले भदौ २५ गते किटानी जाहेरी दिनुभएको हो ।

आरोपीको मौखिक बयानमा घटनाको इन्कारी बयान दिएकाले पोलिग्राफ परीक्षणसमेत गर्ने तयारी प्रहरीले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सेनाद्वारा कुटपिटपश्चात उनको मृत्यु भएको आरोप लगाइएको छ ।

राजकुमारसहित सात जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिलाबाहेक पाँच जना पुरूषलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलालाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको पीडितहरुले आरोप लगाएका छन् । राप्ती नगरपालिका–२, मिलनटोलका २३ वर्षीय पूर्ण चेपाङ, ३२ वर्षीय सन्तलाल प्रजा, ३२ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय गोपीराम प्रजामाथि समेतलाई कुटपिट भएको थियो । छुटेर आएदेखि बिरामी भएका राजकुमारको स्थानीय मेडिकलमा उपचार गराइरहेका थिए । मेडिकलको उपचारले निको नभएपछि भरतपुर अस्पताल ल्याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्