नेकपा बैठक स्थगनः कुलिङ पिरियड कि ओलीलाई अन्तिम अल्टिमेटम – Janadesh Daily | ePaper

नेकपा बैठक स्थगनः कुलिङ पिरियड कि ओलीलाई अन्तिम अल्टिमेटम


जनादेश वाच ।
दुई पद नै छोड्न दबाबमा रहेका र पार्टीमा अल्पमतमा परेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बुधबार पूर्वनिर्धारित सचिवायल बैठकमा गएनन् । पार्टी बैठकमा अध्यक्ष नै भएपनि सचिवालयले केही निर्णय पनि गरेको छ ।

मंगलबारको बैठकमा नेताहरुका पत्र र प्रतिवेदनका बारेमा छलफल गर्ने कि नगर्ने ? भन्नेमा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीचको सम्वाद तिक्ततापूर्ण बनेपछि ओली बुधबारको बैठकमा सहभागी नभएका हुन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाल पक्ष बहुमतका आधारमा निर्णय गररै अघि बढ्ने तयारीमा रहेको भएपनि ओली पक्षका नेताहरुले त्यसो नगर्न अति आग्रह गरेपछि प्रचण्डले रोकेका थिए ।

बुधबार बिहानै महासचिव विष्णु पौडेलले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई एकघण्टा बैठक सार्न मनाएका थिए । महासचिव पौडेल, सुवास नेम्वाङलगायत नेताहरूले बैठक केहीबेर स्थगित गरे प्रधानमन्त्री पनि उपस्थित हुने बताएपछि प्रचण्ड राजी भएका थिए ।

तर ओली नआएपछि बैठक २० गतेसम्म सारिएको छ । सारिएको समयमा समेत ओली बैठकमा सहभागी नभएपछि उनलाई सोचविचार गर्न तीन दिनको समय दिने बाँकी ८ जना सदस्य सहभागी बैठकले निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिव १५ मिनेट बसेको बैठकले तीनवटा निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

ओली बिनै बुधबार बसेको बैठकले आगामी मंसिर २० गतेको सचिवलय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई बैठकमा उपस्थित हुन आग्रह गर्ने, दोस्रो निर्णय २० गते १ बजे सचिवालय बैठक बस्ने र तेस्रो निर्णय मंसिर १८ गतेलाई तय भएको स्थायी समिति बैठक २१ गते बस्ने निर्णय भएको छ ।

ओली पक्षको बुझाई कुलिङ पिरियड, इतर पक्ष भन्छ- बहुमतीय प्रक्रियाको सुरुवात

नौ सदस्यीय नेकपाको सचिवालयमा अध्यक्ष ओली एक्लिदै गएका छन् । कार्यकारी अध्यक्ष प्रचण्डसहित बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एकातिर र ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य इश्वर पोखरेल ओली पक्षमा रहेका थिए ।

अर्का सदस्य रामबहादुर थापा बादल भने कतैपनि खुलिसकेका छैनन् । तर ओलीको पक्षमा रहेका ईश्वर पोखरेल समेत यो पटक बैठकमा पेस भएका प्रस्सतावहरुमा छलफल गर्नुपर्ने पक्षमा उभिएपछि ओली एक्लिदै गएका हुन् ।

बैठक सारिएको विषयलाई पनि दुई पक्षले फरक व्याख्या गरेको छ । ओली निकटहरुले दुई अध्यक्षबीच संवाद सुरु होस् भनेर दुई–चारदिन कुलिङ पिरियड लिएको दाबी गरेका छन् । प्रचण्ड-नेपाल पक्षका नेत यो मान्न तयार छैनन् । उनले सचिवालयमा पेस भएका दस्तावेज प्रधानमन्त्रीसँग सम्बन्धित भएकाले उनको उपस्थितिमा बैठक बस्न कठिनाइ भएकाले थप तीनदिन समय दिइएको उनीहरुको भनाई छ ।

ओलीलाई आग्रह र अनुरोध गर्दा पनि भएन भने पार्टी निर्णय प्रक्रियाबाटै अघि बढ्ने बहुमत सदस्यको तयारी छ । वरिष्ठ नेता झलनाथ खनालले पार्टीले विवेकपूर्ण निर्णय गर्ने भन्दै पार्टीको हृदय र दृष्टिकोण पनि व्यापक हुने भएकाले सवै नेता कार्यकर्तालाई समेट्ने योजनाअनुसार अध्यक्ष ओलीलाई तीन दिनको समय दिइएको जानकारी दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्