जनादेश वाच ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवादहीनता तोडिएसँग ओली प्रचण्ड फकाउने अन्तिम प्रयासमा लागेका छन् ।
बालुवाटार बोलाएर ओलीले प्रचण्डसँग मिलेर जाने प्रस्ताव राखेका हुन् । आफूहरू दुईजना मिले सबै समस्या समाधान हुने र अरु नेतालाई महत्व नदिए पनि हुने आशय ओलीले व्यक्त गरेपछि प्रचण्डले अस्वीकार गरेका थिए ।
भेटमा प्रचण्डलाई माधव नेपालसँगको गठबन्धन तोडेर सहकार्य गरे अगाडि बढ्न सकिने प्रस्ताव गरेका थिए । ओलीको उक्त प्रस्तावलाई भने प्रचण्डले ठाडै अस्वीकार गरेका छन् । ओलीको प्रस्तावमा जवाफ दिँदै प्रचण्डले नेपालसँगको समीकरण भत्किने सम्भावना नभएको र दीर्घकालीन हुने बताएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको जोड अध्यक्षद्वय ओली र प्रचण्ड मिल्नुपर्नेमा छ । पार्टीमा बहुमतको खेल हुन नदिन र एकता जोगाउनका लागि सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’लाई समेत राष्ट्रपतिले आग्रह गरेकी छन् । बादल अहिले पार्टीभित्र बहुमतको खेल रोक्न र एकता जोगाउन सक्रिय भएका छन् ।
यता, २८ मंसिरमा बस्ने बैठकमा ओलीलाई जसरी पनि सहभागिता गराउने प्रचण्ड-माधव समूहको पनि जोड छ । २१ मंसिरको स्थायी कमिटी बैठकमा राजनीतिक रूपमा सहभागिता जनाएका ओलीलाई अहिले भौतिक उपस्थितिका लागि पनि दबाब बढेको छ ।
यसैबीच नेकपाका वरिष्ठ नेता माधव नेपालले ओली र प्रचण्डलाई पार्टीलाई विधिमा सञ्चालन गर्न र आफूलाई सुप्रिम नठान्न चेतावनी दिएका छन् । बुधबार नागरिक फ्रन्टलाइन भन्ने सोमा बोल्दै नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिसंगत ढंगले सञ्चालन गर्नुपर्ने र पार्टीभित्र देखिएका समस्या पार्टीको बैठकमा छलफल गरेर टुंगो लगाउनुपर्ने बताएका हुन् ।
दुई पक्षको फरक रणनीति
ओली पक्षले केही लचिलो बनेको संकेत गर्दै अनेक विकल्पबारे छलफल तीब्र पारे पनि प्रचण्ड–नेपाल पक्षले आफ्नो अडान नफेरिएको बताउँछ। ओली पक्षबाट ‘अफर’हरु पनि आउने क्रम रोकिएको छैन। खासगरी बामदेव गौतम र माधवकुमार नेपाल निवासको दैलोमा अहिले पनि ओली पक्षका कुनै न कुनै नेता पुगिरहेका छन्।
गौतमलाई आगामी चुनावी प्रधानमन्त्री र नेपाललाई पार्टी अध्यक्षको ‘अफर’ आइरहेको नेपाल निकट एक केन्द्रीय सदस्य भन्छन्। तर पार्टी बैठकमा ओलीलाई जसरी पनि सामेल गराउने र उनी सहभागि भएकै बैठकबाट उनलाई हटाउने निर्णय गर्ने अन्तिम तयारी यो पक्षको देखिन्छ।
ती सदस्यले ओलीको चाहना अनुसार प्रचण्डको प्रस्ताव सहज रुपै फिर्ता हुने सम्भावना छैन। त्यसैले ओली आगामी स्थायी कमिटी बैठकमा सामेल हुनेमा पनि उनीहरु विश्वस्त छैनन्।