खुले होटल , खुलेनन् घरवासः किरण पौड्याल – Janadesh Daily | ePaper

खुले होटल , खुलेनन् घरवासः किरण पौड्याल


इलाम,
करिव चार महिनापछि सूर्योदय नगरपालिकास्थित श्रीअन्तुका होटल र कटेज खुल्न थालेका छन् ।
पछिल्लो समय पर्यटकको आकर्षण बनेको घरवास (होमस्टे) भने यो महिनाभर नखुल्ने भएका हुन् ।
कोरोनाको त्रास रहे पनि व्यवसाय संकटमा परेपछि सामान्यीकरणका लागि होटल र कटेज खुल्न थालेका हुन् ।
कोरोना जोखिम हुन नदिन आवश्यक शर्तहरू पूरा गर्नुपर्ने नियम राखिएको छ । श्रीअन्तु होमस्टे व्यवसायी सङ्घका सचिव रुद्र घिमिरेले भन्नुभयो, “हामीले केन्द्रको निर्देशन मान्दै होटल खोलेका हौँ, तर एक होटल/कटेजमा एक दिनमा एक जना मात्र पाहुना राख्नुपर्ने शर्त छ ।” यसका स्थानीय व्यक्तिलाई मात्र बस्ने दिने नियम बनाइएको छ । शङ्कास्पद र टाढाको व्यक्ति राख्न नमिल्ने नियम बनाइएको उहाँले बताउनुभयो । व्यवसाय नै ठप्प भएर आर्थिक स्थिति नाजुक बनेपछि खोल्नुपर्ने बाध्यता आइलागेको उहाँको भनाइ छ ।
तर होटल र कटेजमा पाहुनालाई स्यानिटाइजर दिने, ज्वरो मापन गर्नुपर्ने नियम राखिएको छ । उहाँले भन्नुभयो “हामीले होटल/कटेज खोल्यौ भन्ने सन्देश मात्र दिएका हौँ ।” होटल र कटेज खुले पनि अन्तुका होमस्टे भने साउनभर नखुल्ने भएका छन् । होमस्टे एशोसिएसन नेपालले खुनाउन अनुरोध गरे पनि कोरोनाको जोखिमले होमस्टे नखुलेका हुन् ।
होमस्टे खुल्नेबित्तिकै ठूलो सङ्ख्यामा पर्यटक आउन सक्ने भएकाले होमस्टे १५ दिनपछि मात्र खुल्ने जनाइएको छ । श्रीअन्तुडाँडा सामुदायिक होमस्टे अन्तुका अध्यक्ष धनबहादुर आलेका अनुसार आगामी भदौ १ गतेबाट मात्र होमस्टे खुलाउने निर्णय भएको छ ।
सूर्योदय नगरपालिकास्थित अन्तु, समालबुङ क्षेत्रमा ७६ होमस्टे र ३३ भन्दा बढी होटल/कटेज छन् । अन्तुडाडाँडा सामुदायिक होमस्टेमा ६३ र अन्तुपोखरी सामुदायिक होमस्टेमा १३ होमस्टे आबद्ध छन् । रासस
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्