चुनावमा भाग लिने वा नलिने भन्ने आन्तरिक विवादका बीच चुनावी प्रतिस्पर्धामा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अहिलेसम्म बलियो उपस्थिति देखाउन सकेको छैन । विप्लवका विश्वासिला केन्द्रीय सदस्य भेषराज भुसाल मेयरको उम्मेदवार भएको शिवराज नगरपालिकामा अहिले विप्लवको पार्टीको उल्लेख्य मत देखिएको छैन । अझ, रोचक त विप्लवको गृहपालिकामा राप्रपाले नेतृत्व गरिरहेको छ ।
मेयरमा राप्रपाका उम्मेदवार अजय थापाले १ हजार ६ सय ८१ मत ल्याएका छन् । उनलाई एमालेका महादेव पोखरेलले १ हजार ३ सय ५ मतले पछ्याइरहेका छन् । तेस्रोमा कांग्रेसका हुमाकान्त खनालले २ सय ८१ मत पाएका छन् । त्यसैगरी, चौथोमा जसपाका कृष्णकुमार चौधरीले २ सय २६ मत पाएका छन् । अहिलेसम्म विप्लवको पार्टीका उम्मेदवार भुसालको मत कति भन्ने नै खुलेको छैन ।
केन्द्रीय सदस्य भुसाल मेयर उठेको शिवराजको वडा नम्बर ९ को अध्यक्षमा मालबहादुर घर्तीमगर र वडा सदस्यमा विप्लवको पार्टीका सुमित्राकुमारी घर्तीमगरको उम्मेदवारी छ । वाणगंगा नगरपालिका ५ को वडासदस्यमा ज्ञानेन्द्र पाण्डेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
कालीकोट विप्लव नेतृत्वको नेकपाको प्रभाव क्षेत्रको रूपमा मानिने गरेको थियो । नेता खड्गबहादुर विश्वकर्माको गृहजिल्ला कालीकोटमा पनि विप्लव नेतृत्वको नेकपाको उपस्थिति देखिएको छैन ।
विश्वकर्माको गृहपालिका नरहरिनाथ गाउँपालिमा कांग्रेसका नगेन्द्रबहादुर विष्ट ४ सय १६ मतसहित अगाडि छन् भने एमालेका टेकबहादुर बुढाले ४ सय ६ मत ल्याएका छन् । त्यसरी हेर्दा, विप्लवले यो पालिकामा पनि उपस्थिति देखाउन सकेको छैन ।
नरहरिनाथको अध्यक्षमा नेकपाका केन्द्रीय सदस्य एटम बीसी र उपाध्यक्षमा कलशा विक उम्मेदवार छन् । त्यसैगरी, रास्कोट नगरपालिकाको प्रमुखमा केन्द्रीय सदस्य धीरेन्द्राकुमारी उपाध्याय र उपप्रमुखमा फुलटौरा विकले उम्मेदवारी दिएका थिए भने पचालझरना गाउँपालिकाको अध्यक्षमा जिल्ला सेक्रेटरी मनिलाल ऐडी र उपाध्यक्षमा विनित तिरुवाले उम्मेदवारी दिएका थिए ।
सान्नीत्रिवेणीको अध्यक्षमा नेकपाकै रूपसिंह बोहरा र व्यासी कामी गरी दुई जनाको उम्मेदवारी परेको छ । कामी आधिकारिक उम्मेदवार भए पनि बोहराले बागी उम्मेदवारी दर्ता गराएका थिए ।
कालीकोटकै खाँडाचक्रको प्रमुखमा हस्त विक र उपप्रमुखमा शारदा शाही, तिलागुफा नगरपालिकाको प्रमुखमा नरेन्द्र चदारा, उपप्रमुखमा धनराज शाही, महाबैको अध्यक्षमा धनबहादुर सिंह, पलाताको अध्यक्षमा पदमबहादुर विश्वकर्मा, शुभकालिकाको अध्यक्षमा मनिष विकलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।