बाढीले सुत्केरी तथा गर्भवती प्रभावित – Janadesh Daily | ePaper

बाढीले सुत्केरी तथा गर्भवती प्रभावित


टीकापुर ।

कैलालीको भजनी नगरपालिकाले बाढीले प्रभावित भएका ४२५ सुत्केरी तथा गर्भवतीलाई राहत वितरण गरेको छ ।

नगरपालिकाले सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य किट वितरण गरेको हो । ती किटमा दाँत माझ्ने ब्रस, कोलगेट, नुहाउने साबुन, लुगा धुने साबुन, नेल कटर, आमा र शिशुका लागि न्यायो कपडा, महिनावारीको समयमा आवश्यक पर्ने प्याड, लुगा सुकाउने डोरी रहेका छन् ।

नगरपालिकाले पीडित परिवारलाई खाद्यान्न, भाडाकुँडा, त्रिपालजस्ता सामान दिन थालेको छ भने गर्भवती र सुत्केरीलाई अतिआवश्यक पर्ने सामान भएकाले स्वास्थ्य सामग्री भएको झोला नै दिन थालेको उपप्रमुख छाया देवकोटाले बताउनुभयो ।

“महिलालाई बढी समस्या हुन्छ, यस्तो समस्यामा महिलालाई सरसफाइका लागि सामग्री चाहिन्छ”, उहाँले भन्नुभयो, “महिलालाई पानी शुद्धीकरणका लागि चाहिने पियुससमेत दिएका छौँ । यस्तो बेलामा शुद्ध पानी आवश्यक हुन्छ ।”

बाढीको समयमा सुत्केरी र गर्भवतीलाई पोषण अभाव भएकाले नगरपालिकाले उनीहरुका लागि पोषण सहितको प्याकेजसमेत ल्याउने तयारी गरेको छ । उहाँले “हामीले विभिन्न सङ्घसंस्थासँग पोषण प्याकेज सहयोगका लागि समन्वयसमेत गरिरहेका छौँ । गर्भावस्था र सुत्केरी अवस्था विशेष अवस्था भएकाले हामी गम्भिर छौँ ।” भजनी–८ की रुपा चौधरीको दुई महिनाकी छोरी छिन् ।

दुई महिनाकी सुत्केरी रुपा बाढी आएपछि परिवारसँगै विस्थापित हुनुभयो । रुपाको परिवार पाँच दिन पथरैया पुलमा पाल टाँगेर बस्नुभयो । “पालमुनि बस्दा निकै कठिन भयो, त्यहाँ खान पनि पाइएन”, उहाँले भन्नुभयो, “पानी घटेपछि घर फर्कियौँ तर घरमा सबै खाद्यान्न नष्ट भइसकेको छ ।” उहाँको परिवारलाई शनिबार नगरपालिका र केही सङ्घसंस्थाका प्रतिनिधि आएर राहतस्वरुप खाद्यान्न दिए ।

“बच्चाको सरसफाइ पनि राम्ररी गर्न पाएकी थिइन”, रुपाले भन्नुभयो, “साबुन पाएपछि बच्चालाई नुहाइदिए, अनि लुगा पनि रहेछ । नयाँ लुगा फेरिदिए ।” सुत्केरी महिलालाई बढी आवश्यकता र समस्या हुने भएकाले विशेष राहत दिनुपर्ने उहाँको माग छ । भजनी–५ की रत्ना धामी गर्भवती हुनुहुन्छ । गर्भवती भएदेखि नियमित अण्डा, दूध खाने उहाँलाई आजभोलि भात खानै समस्या भएको छ ।

छ महिनाकी गर्भवती रत्ना आफूजस्ता महिलालाई सरकारले बिशेष सहयोग गर्नुपर्ने माग गर्नुहुन्छ । “हामीले राम्ररी खान पाएका छैनौँ, बाढीले जताततै दुर्गन्ध छ । स्वास्थ्य परीक्षण, पोषिलो खानेकुरा खाने अवस्था छैन । हामीलाई सरकारले हेरोस्”, उहाँले भन्नुभयो ।

भजनी नगरपालिकामा बाढीले एक हजार ६७१ परिवार विस्थापित भएका थिए । पानी घटेपछि उनीहरु घर फर्कने क्रम जारी छ । सामान्य बाढीले प्रभाव पारेका परिवार त दुई हजार बढी छन् । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्