बागमती नगरपालिकाले विद्यार्थीको शैक्षिक अवस्था सुधार्न गर्न शिक्षकलाई सिकाइ सीपसँगै क्षमता विकास तालिम दिन सुरुआत गरेको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाको सिकाइ सीपसँगै क्षमता विकासको तालिम प्रदान गर्न थालिएको नगरशिक्षा शाखाका प्रमुख मिनप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
नगरपालिकाभित्र २५ सामुदायिक विद्यालयका करिब दुई सय शिक्षक शिक्षिकालाई एकैपटक तालिम दिन सुरु गरिएको उहाँले बताउनुभयो । शिक्षक शिक्षिकालाई प्रविधिसँग जोड्न कम्प्युटर तालिम, बालबालिकालाई हसाउँदै खेलाउँदै पढाउनका लागि शैक्षिक सामग्री निर्माणको तालिम र राम्रो लेखनका लागि हस्तलेखन अभ्यास गराइएको छ ।
यसरी विभिन्न चरणका तालिममा सहभागी हुनुभएका शिक्षक शिक्षिकाले आआफ्नो विद्यालयमा प्रशिक्षकका रूपमा काम गर्ने नगर शिक्षा शाखा प्रमुख उपाध्यायले बताउनुभयो ।
नगरले ‘मन्टेश्वरी’ शिक्षण पद्धतिअनुसार नगरका सामुदायिक विद्यालयमा पठनपाठन गराइरहेको र नगरको सामुदायिक शिक्षाको गुणस्तर सुधारमा उच्च प्राथमिकता दिएको नगर प्रमुख भरतकुमार थापाले बताउनुभयो । उहाँका अनुसार बालबालिकामैत्री पठनपाठनको अवधारणाअनुसार बागमती नगरपालिकाका सामुदायिक विद्यालय अगाडि बढिसकेका छन् ।
बागमती नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक विकासमा विभिन्न कार्यक्रम सञ्चालन गरिराखेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताउनुभयो । सामुदायिक विद्यालयले विद्यालयको वार्षिक पात्रो नै तयार गरेर नियमित परीक्षादेखि बालबालिकाका लागि अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै आएका उहाँले बताउनुभयो ।
बृहतर राष्ट्रिय शिक्षा अभियानका अभियन्ता अभिषेक घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि प्रशिक्षकका रूपमा सहयोग गरिराख्नुभएको छ ।