प्रधानमन्त्री कप क्रिकेट : एपिएफ विजयी – Janadesh Daily | ePaper

प्रधानमन्त्री कप क्रिकेट : एपिएफ विजयी


प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै विजयी भएको छ ।
जितका लागि एक सय ६१ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६८ रनमा समेटियो । कर्णालीका लागि त्रिर्सना विश्वकर्माले सर्वाधिक १९ रन बनाइन् । उनले १९ बल खेल्दै तीन चौकाको मद्दतमा १९ रन जोडेकी हुन् ।
त्यस्तै गौरी बोहोराले १२ तथा रश्मी खड्काले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कप्तान किरण कुवरले १ रन बनाइन् भने बिना थापाले २ तथा अन्जु गुरुङले ६ रन बनाइन् ।
कर्णालीलाई सस्तैमा समेट्नेक्रममा एपिएफकी करुणा भण्डारीले चार विकेट लिइन भने सुमन विष्टले दुई विकेट झारिन् । त्यसैगरी बिनु बुढा र सीता रानामगरले समान एक÷एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै एक सय ६० रनको योगफल बनाएको थियो ।
एपिएफका लागि राजमती ऐरीले सर्वाधिक ६७ रनको योगदान दिइन् । उनले ५५ बल खेल्दै नौ चौका र दुई छक्काको मद्दतमा ६७ रन बनाएकी हुन् । ममता चौधरीले ६२ रन बनाइन् । उनले पनि समान ५५ बल खेल्दै आठ चौकाको मद्दतमा ६२ रन बनाएकी हुन् । रोमा थापाले अविजित १४ रन बनाइन् । बलिङतर्फ कर्णाली प्रदेशकी त्रिर्सना विश्वकर्माले एक विकेट झारेकी थिइन् ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्