नेकपा विवाद: दुवै पक्षद्वारा भेटघाट तीव्र, ओलीको सन्देश लिएर नेम्वाङ देउवा निवासमा – Janadesh Daily | ePaper

नेकपा विवाद: दुवै पक्षद्वारा भेटघाट तीव्र, ओलीको सन्देश लिएर नेम्वाङ देउवा निवासमा


प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रपति र आफूमाथि षड्यन्त्र भइरहेकाले जुनसुकै कदम चाल्न सक्ने’ सङ्केत गरेको भनिएका बेला ओलीसहित नेकपाका नेताहरूले विभिन्न पक्षसँग भेटघाट तीव्र पारेका छन्।

ओलीले शनिवार आफ्नो मन्त्रिमण्डलका सबै सदस्यहरू र सल्लाहकारहरूलाई बोलाएर ‘आफूले जुनसुकै कदम चाल्नसक्ने’ बताएको खबरहरू सार्वजनिक भएका थिए।

तर बीबीसीसँग कुराकानी गरेका उक्त बैठकमा सहभागी एकजना राज्यमन्त्रीले चाहिँ ओलीले ‘पार्टी अहिले सङ्कटमा छ’ भन्दै पार्टीलाई जोगाउन मन्त्रीहरूलाई भूमिका खेल्न निर्देशन दिएको बताएका छन्।

एकजना अध्यक्ष पुष्पकमल दाहालसहित अन्य नेताहरूले सरकार र पार्टी दुवैको नेतृत्वबाट ओली हट्नुपर्ने माग गरेपछि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिँदै गएको छ।

गत साता मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपाको जारी स्थायी कमिटी बैठक समेत सोमवारसम्मका लागि स्थगित भएको छ।

शनिवार साँझको बैठकमा के भयो?

शनिवार साँझ प्रधानमन्त्री ओलीले आफ्ना मन्त्रीहरू र सल्लाहकारहरूसँग गरेको बैठकमा ‘आफूले जुनसुकै कदम चाल्न सक्ने र त्यसको पक्षमा वा विपक्षमा रहनेले कित्ता तय गर्नुपर्ने’ बताएको विवरण सार्वजनिक भएको थियो।

तर उक्त बैठकमा सहभागी भएका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले प्रधानमन्त्रीको अभिव्यक्ति त्यस्तो नभएको बीबीसीलाई बताए।

उनले भने, “उहाँले ‘पार्टी सङ्कटमा छ, अवस्था गम्भीर छ, नाजुक छ, कुरा मिल्न सकेको छैन। यस्तो अवस्थामा तपाईंहरूले पनि आ-आफ्नो स्थानबाट भूमिका खेल्नुहोस्। हाम्रो वार्ता जारी छ। हाम्रो वार्ता अवरुद्ध भएको छैन। बाहिरबाट धेरै झूटा कुरा फैलाइएको छ। त्यसमा विश्वास नगर्नुस्। यो पार्टी जोगाउन सबैको सहयोग चाहिन्छ। हामी सबै मिलेर पार्टी जोगाउनु पर्छ’ भन्नुभयो।”

उनले उक्त बैठक आकस्मिकजस्तो नभएको र प्रधानमन्त्रीको मनस्थिति पनि सामान्य रहेकाले बाहिर आएजस्तो कुरा सत्य नभएको बताए।

राष्ट्रपति र आफूमाथि षड्यन्त्र भएको ओलीले बताएको भन्दै सार्वजनिक विवरणबारे उनले भने, “उहाँले त्यसरी भन्नुभएको होइन। विभिन्न भ्रामक कुराहरू आएका छन् त्यसमा वास्ता नगर्नुस् भन्नुभएको हो।”

आइतवार बिहानैदेखि भेटघाट

विवाद चुलिएर पार्टी फुटको नजिक पुगेको र ओलीले कुनै अस्वाभाविक कदम चाल्नसक्ने अड्कलबीच आइतवार बिहानैदेखि नेताहरू भेटघाटमा व्यस्त देखिएका छन्।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउने तयारी गरिएको आरोप लगाएको भन्ने विवरणहरू सार्वजनिक भएपछि त्यो गलत भएको भन्दै राष्ट्रपतिलाई आश्वस्त पार्न नेकपाका अर्का अध्यक्ष दाहाल सहितका नेताहरू शीतल निवास पुगेका छन्।

उक्त भेटमा पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल पनि सामेल थिए।

उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मुख्यत: दुईवटा सन्देश दिएको पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निकट एकजना नेताले बीबीसीलाई बताए।

उनका अनुसार तीन नेताहरूले राष्ट्रपतिलाई महाअभियोग लगाउने कुनै मनसाय नरहेको र सरकारको सिफारिस भए पनि विवादमा पर्नेखालको कदम नचाल्नु भन्ने सन्देश दिएका छन्।

ओलीले दल विभाजनसम्बन्धी अध्यादेश पुन: ल्याउनसक्ने अड्कलबाजीका बीच उनीहरूले राष्ट्रपतिलाई त्यस्तो अध्यादेश आए सबै दलसँग छलफल गरेर मात्र स्वीकृत गर्न सुझाव दिएका ती नेताले बताए।

ओलीको सन्देश लिएर नेम्वाङ देउवाकहाँ

उता ओलीले पनि विभिन्न पक्षसँग भेटघाट तीव्र पारेको ओलीनिकट व्यक्तिहरूले बताएका छन्।

उनले कानुनव्यवसायीदेखि विभिन्न व्यक्तिहरूसँग छलफल गरेका विवरणहरू सार्वजनिक भएका छन्।

यद्यपि कतिपय त्यस्ता दाबीहरूलाई बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

देउवातस्वीर कपीराइटRSS
Image captionपूर्व सभामुख सुवास नेम्वाङलाई ओलीले सन्देशसहित प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट्न पठाएका छन्

आइतवार बिहान ओलीले आफू निकट नेकपाका नेताहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए।

त्यसपछि नेकपाका नेता तथा पूर्व सभामुख सुवास नेम्वाङलाई ओलीले सन्देशसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पठाएका थिए।

ओलीले पार्टी फुटाएर कांग्रेससँगको गठबन्धनमा सरकार बनाउने हल्ला चलिरहेका बेला उनले नेता नेम्वाङलाई देउवाकहाँ पठाएका हुन्।

तर नेम्वाङले देउवासँगको भेटघाट सत्ता परिवर्तनको खेलसँग कुनै पनि हिसाबले नजोडिएको बताए।

उनले भने, “देशमा यति गम्भीर विषयहरू उठिरहेका बेला प्रमुख प्रतिपक्षी दलको नेतासँग प्रधानमन्त्रीले कुरा गर्नुपर्छ कि पर्दैन? प्रधानमन्त्रीले अहिलेका यी सबै सन्दर्भमा हाम्रो तर्फबाट पनि ‘हेलो भन्देउ है’ भन्नुभयो म गएर उहाँलाई भेटेँ हेलो भनेर आएँ।”

“यस्तो किसिमको भेटघाटलाई पनि कसैले प्रश्न उठायो भने ती साथीले कसको हित चाहिरहेका छन् भन्ने कुरा भन्नुपर्ने हुन्छ। त्यस्तो प्रश्न उठाउने कोही हुनुहुन्छ भन्ने मलाई थाहा छैन। विश्वास छैन।”

उनले ओलीले देश र जनताका लागि मिलेर अघि बढ्न देउवालाई सन्देश पठाएको बताए।

यसअघि गत बुधवार ओलीले बालुवाटारमा देउवासँग गोप्य भेटघाट गरेको विवरण पनि आएका थिए।

तर उक्त भेट संवैधानिक आयोगमा पदाधिकारी नियुक्तीलाई लिएर मात्र भएको काङ्ग्रेसका नेताहरूले विभिन्न सञ्चारमाध्यममा बताएका थिए।

‘दुई अध्यक्षलाई मिलाउने प्रयास जारी’

नेकपाका नेताहरूले अहिलेको विवाद समाधानका लागि दुईजना अध्यक्षबीच देखिएको विवाद कम गर्ने पहल भइरहेको बताएका छन्।

ओली र दाहाल पक्षका भनिएका नेताहरूले विवाद चाँडै समाधान हुने र पार्टी नफुट्ने विश्वास व्यक्त गरे।

ओली निकट ठानिने नेम्वाङले “दुईजना अध्यक्ष बसेर विवाद समाधान गर्ने त्यसै अनुरुप पार्टी अघि बढ्ने मिलनविन्दु भनेको त्यही हो।”

नेकपातस्वीर कपीराइटRSS

उनले पार्टीभित्रको विवाद समाधानका लागि आफूहरूले मध्यमार्गी भूमिका खेलिरहेको पनि बताए।

उनले भने, “हामी पार्टीलाई एकीकृत राख्ने भनेर लागिरहेका छौँ। फुटाउन पनि साथीभाईहरू लागिरहेका होलान्। को को लाग्नुभएको छ थाहा छैन। … तर हामी अफ्ट्यारो आउन दिन्नौँ।”

अर्का अध्यक्ष दाहाल निकट नेताले चाहिँ सहमतिका लागि सबैभन्दा बढी पहल ओलीले गर्नुपर्ने बताउँछन्।

दाहाल निकट मानिने एकजना नेता देवेन्द्र पौडेलले भने, “सबैभन्दा बढी जिम्मेवार चाहिँ प्रधानमन्त्री हुनुपर्छ। किनभने कार्यकारी प्रमुखका हैसियतले पनि देशभरिका कार्यकर्ताको भावना सुनेर जुन स्पिरिटमा हिजो एकता गर्नुभएको हो त्यो स्पिरिटलाई फर्केर हेरेर सहमतिको विन्दु खोज्ने उहाँले पहल गर्नुपर्छ।”

उनले दाहालले पनि सहमतिको विन्दु खोज्नुपर्ने र अन्य वरिष्ठ नेताहरूले पनि त्यस्तै गर्नुपर्ने बताए।

त्यसका लागि आफूहरूले पहल गरिरहेको जानकारी दिए।

पौडेलले पहिले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हट्न दबाव दिएका नेताहरूले अहिले उनलाई एक पदमा मात्र सीमित राख्न दबव दिन लागेको सङ्केत गरे।

उनले भने, “एक व्यक्ति एक पदको कुरा पहिलेदेखि नै उठेको छ। उहाँ (ओली)को भूमिकालाई इन्कार गरेर निषेध गर्ने कुरा हुँदैन र उहाँले पनि अरूको भूमिकालाई इन्कार गरेर निषेध गर्ने कुरा हुँदैन।”

ओली-दाहाल भेट

यसैबीच आइतवार दिउँसो ओली र अर्का अध्यक्ष दाहालबीच बालुवाटारमा भेटघाट भएको छ।

भेटघाटमा ओली र दाहाल पक्षका नेताहरू पनि सामेल भएको बुझिएको छ।

ओली र दाहालबीच समेत दूरी बढिरहेका बेला भएको यो भेटघाटले उनीहरूबीचको दूरी कम गर्ने ठानिएको भए पनि सहमति जुट्न नसकेको विवरण सार्वजनिक भएका छन्।

ओली र दाहालबीच सोमवार पुन: छलफल हुने विभिन्न स्रोतहरूलाई उल्लेख गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन्।

सोमवारै नेकपा स्थायी कमिटीको बैठक पनि बस्ने तय भएको छ।

स्रोतः बिबिसी नेपाली

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्