‘होम डेलिभरी’ जरुरी छैन: काठमाडौँ प्रशासन – Janadesh Daily | ePaper

‘होम डेलिभरी’ जरुरी छैन: काठमाडौँ प्रशासन


जनादेश, काठमाण्डौ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा तत्काल ‘होम डेलीभरी’ सेवा जरुरी नभएको प्रष्ट्याएको छ ।

हरेक विहान ९ः१५ सम्म खाद्य सामग्री खरिद–बिक्रीको समय पर्याप्त भएको उल्लेख गर्दै प्रशासनले कोभिड–१९ सङ्क्रमण जोखिमको विषम परिस्थितिमा अनावश्यक भिडभाड गर्न नहुनेतर्फ ध्यानाकर्षण गराएको छ ।

खाद्य परिकारलगायत घरायसी वस्तु घरघरमा पुरयाउँदा सङ्क्रमण फैलिनसक्ने जोखिम रहेको बताउँदै काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले तत्कालका लागि त्यस्तो सेवा सञ्चालन गर्न नहुनेमा जोड दिनुभयो ।

“होटलबाट खाना पोको पारेर लैजाने सेवासमेत बन्द छ, प्रशासनले जारी गरेको आदेशमा होमडेलिभरी सेवाबारे उल्लेख छैन”, प्रजिअ दाहालले राससँग भन्नुभयो, “वाणिज्य विभागले एउटा मापदण्ड बनाउनु पर्छ र डेलिभरी गर्ने व्यक्तिको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ छ भन्ने प्रमाणित गराएर मात्रै उक्त सेवा सञ्चालन गर्नुपर्छ ।”

प्रहरीले डेलिभरी सेवा रोक्न थालेपछि ति संस्थाका प्रतिनिधिले आज जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउँदै सेवा सञ्चालन गर्न दिन माग गरेका थिए । त्यसको जवाफमा प्रजिअ दाहालले तत्काल सेवा सञ्चालन गर्न नसकिने जवाफ दिनुभएको छ ।

“हाम्रो ध्यानाकर्षण भएको छ, त्यस विषयमा छलफल हुनेनै छ, निषेधको आदेश लम्बिन गयो भने एउटा निचोडमा पुग्न सकिन्छ तर अहिलेकै अवस्थामा सेवा सम्भव छैन”, प्रजिअ दाहालले भन्नुभयो । उहाँले यसरी सेवा दिने हजारौँ मोटरसाईकल सडकमा निस्किने र घरघरमा पुग्ने भएकाले जनस्वास्थ्यको ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्