वामदेव गौतम उपप्रधान तथा अर्थमन्त्री बन्दै – Janadesh Daily | ePaper

वामदेव गौतम उपप्रधान तथा अर्थमन्त्री बन्दै


जनादेश, काठमाडौं :

सरकार फेरबदल हुने हल्लाले सञ्चार बजार तातिरहेको बेला नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधान तथा अर्थमन्त्री बनाउने चर्चा चुलिन पुगेको छ । वर्तमान सरकारका प्रवक्ता एवम् अर्थ र सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाका ठाउँमा पार्टी उपाध्यक्ष गौतमलाई लैजाने प्रस्तावले सत्ताधारी नेकपाभित्र फेरि विवाद बढ्न थालेको देखिएको छ ।

युवराज खतिवडाको कार्यकाल सकिदै गरेको र नयाँ एकजना उनको स्थानमा ल्याउनु पर्ने भएकाले पनि सत्तारुढ पार्टीभित्र कसलाई लैजाने भन्नेमा विवाद बल्झिन पुगेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र उनीपक्षधरहरु खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहेपछि एकअर्कामा आशंका पैदा हुन गएको देखिन्छ । तर पार्टीका अर्का अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालसहित झलनाथ खनालको पक्षधर उक्त स्थानमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई लैजानुपर्नेमा अडिग देखिन्छन् ।

राष्ट्रिय सभामा हालसम्म पूर्ति नगरिएको एक सिटमा बामदेव गौतमलाई पुर्याई उपप्रधान तथा अर्थमन्त्रीको जिम्मा दिन पार्टी अध्यक्ष तथा प्रम ओलीमाथि पार्टी बहुमतबाट दबाब बढिरहेको छ ।

यस विषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालबीच सहमति भै वामदेव गौतमसँग सामूहिक छलफल हुँदा पार्टीले निर्णय गरी पठाएको खण्डमा आफूले उक्त जिम्मा लिने उपाध्यक्ष गौतमले स्वीकार गरिसकेका छन् ।

पार्टीका शीर्ष नेताहरुबीच सहमति भै अबको पार्टी सचिवालय वैठकबाट उक्त सहमतिलाई निर्णय गरिएपछि गौतमलाई राष्ट्रिय सभामा लगिने छ । यसअघि उपयुक्त समयमा गौतमलाई प्रधानमन्त्री बनाउने आश्वासन हालका प्रमबाट आएकाले पनि गौतम राष्ट्रियसभामा नजाने सोच बनाएर बसेका थिए ।

प्रधानमन्त्री ओलीको डा. खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने बारेमा अडान नफेरिएकाले राजनीतिक विश्लेषकहरु कतै यो अवसर पनि गौतमका लागि ‘माछोमाछो भ्यागुतो’ त हुने होइन भनी चर्चा गर्न सुरु गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्