जनादेश, काठमाण्डौ ।
कोरोना महामारीले संसारभर व्यापार व्यवसाय चौपट भैरहेको छन् । तर यही समयमा चिनियाँ मुलका एक अमेरिकी अर्बपतिको एपले भने अपत्यारिलो फाइदा गरिरहेको छ । महामारीमा मालामाल हुने चिनियाँ मुलका अमेरिकी नागरिक एरिक युआनले विकास गरेको रिमोट कन्फरेन्सिंग सेवा प्रदायक एप जुम ।
अहिले गुगल प्ले स्टोरमा संसारका सर्वाधिक चर्चित एपमा जुम एक नम्बरमा छ । संसारभर लोकप्रिय बनेको जुम एप मोबाइल र कम्प्युटरमा डाउनलोड गरेर विभिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । कोरोना महामारी सुरु भएयता यो एप भिडियो कन्फरेन्सिंग, अनलाइन बैठक, अनलाइन पठन पाठन र च्याट आदिका लागि संसारभर प्रयोग भैरहेको छ । कतिपय अनलाइन कम्पनीका कर्मचारीले घरैमा बसेर धेरैले यही एपमार्फत् काम गरिरहेका छन्।
नाफा नै नाफा
यो एपको फाइदा कोरोना महामारीको समयमा दोब्बरले बढेको तथ्याङ्क सार्वजनिक भएको छ । यो आर्थिक वर्षको दोश्रो त्रैमासिकमा जुमको आम्दानी ३ सय ५५ प्रतिशत अर्थात ६६ करोड ३५ लाख डलर पुगेको कम्पनीले जनाएको छ । योसँगै जुमको नाफा १८ करोड ६० लाख पुगेको छ भने प्रयोगकर्ता सन् २ हजार १९ को तुलनामा ४ सय ५८ प्रतिशतले बढेका छन् ।
जुमले दोश्रो त्रैमासिकमा ५० करोड डलर आम्दानी गर्ने अनुमान विश्लेषकले गरेपछि शेयर बजारमा जुमको माग बढेको थियो । सोमबार जुमको शेयर मूल्यले रेकर्ड कायम गर्दै ३ सय २५ दशमलब १० डलर पुगेको थियो ।
केही समय अघि जुमको साइबर सुरक्षावारे प्रश्न नउठेको होइन । तर कम्पनीले आफ्नो कोडमा भएको कमजोरीबारे भुल सुधार गर्दै यस्तो कमजोरी पत्ता लगाउने ह्याकरलाई पुरस्कार दिने नयाँ कार्यक्रम घोषणा गर्यो । सुरक्षाको सम्भावित जोखिम र जुमबम्बिङ कम गर्नलाई जुमको डिजाइन पनि परिवर्तन भइरहेको निर्माताले बताएका छन् ।
जुम बनाउने एरिक युआनको रोचक कथा
एरिकको जन्म चीनको शाङ्दोङ प्रान्तको ताइआन सहरमा भएको थियो । उनले स्नातकोत्तर इन्जिनियरिङमा गरेका थिए । उनका बाबुआमा खानीका इन्जिनियर रहेको फोर्ब्सले जनाएको छ । स्नातकोत्तर गरिरहेकै समयमा २२ वर्षको उमेरमा लामोसमय देखि प्रेममा रहेकी युवतीसँग विवाह गरेका एरिकले २७ वर्षको उमेरमा चीनबाट अमेरिका जाने निधो गरेका थिए ।
आठ पटक आवेदन फिर्ता भएपछि नवौं पटकमा उनलाई अमेरिकाको भिसा प्राप्त भएको फोर्ब्सको विवरणमा उल्लेख छ । अमेरिका जाँदा अंग्रेजी बोल्न खासै नजानेका एरिकले कम्प्युटरमा कोडिङ गर्दा गर्दै चिया कफी खाने साथीहरुबाट अंग्रेजी बोल्न सकेका थिए । सन् १९९७ मा वेब-एक्स नामक सानो भिडियो कन्फरेन्सिङ कमप्नीमा सफ्टवेयर इन्जिनियरकोरुपमा काम गर्न थालेका एरिक सन् २ हजार ७ मा सो कम्पनी किन्ने सिस्को नामक कम्पनीमा काम गर्दै सन् २ हजार ११ मा कम्पनीको उपाध्यक्ष बन्न सफल भए । तर पछि कम्पनी छोड्ने निर्णय गरे ।
एरिकलाई जुम बनाउने विचार भने चीनमा हुँदा नै आएको फोर्ब्ससँग बताएका छन् । १८-१९ वर्षको उमेरमा रेल चढेर प्रेमिका भेट्न जाने समयमा उनलाई कुनै उपकरणमा क्लिक गरेर प्रेमिकासँग कुरा गर्न पाए कस्तो हुँदो हो भन्ने विचार मनमा आएको थियो जुन पछि जुमकोरुपमा प्रष्फुटित भयो ।
सिस्कोमा काम गर्दा गर्दै उनले विभिन्न मिटिङहरुमा भौतिकरुपमा उपस्थित हुनुको साटो जुमबाट उपस्थिति जनाउन थालेको बताएका छन् । भिडियो कन्फरेन्सिङका लागि टिम्स, गुगलको वि-मिट, वेब-एक्स लगायतका अनेक विकल्प भएपनि जुम कोरोना महामारीमा यसका निर्माता र अन्य धेरैका लागि बरदान सावित भएको छ ।
कर्जाको भारी बोकेर ठूला-ठूला र स्थापित कम्पनीसँग जुध्न एरिकले गरेको संघर्ष रोचक र प्रेरक छ । ४१ वर्षको उमेरमा एरिकले जुमको विकास गरेका थिए । एरिक भन्छन्- ‘कम्पनी सुरु गर्नका लागि आफू कति वर्षको भएँ भनेर सोच्नु पर्दैन । जहिले जहाँ सुरु गरेपनि हुन्छ’ ।
एजेन्सीको सहयोगमा