सडक दुर्घटना न्यूनीकरण गर्न, उपत्यकामा ट्राफिक सचेतना – Janadesh Daily | ePaper

सडक दुर्घटना न्यूनीकरण गर्न, उपत्यकामा ट्राफिक सचेतना


जनादेश, काठमाण्डौ ।

महानरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिका लागि पुनः विभिन्न जनचेतनामूलक कार्यक्रम शुरु गरेको छ । सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन र सडक दुर्घटना न्यूनीकरण गर्न महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानका काल्पनिक ट्राफिक प्रहरी (डमी प्रहरी) बनाएर राखेको छ ।

डमीका हातमा ट्राफिक नियम उल्लङ्न गरेमा रू ५०० देखि १० हजारसम्म जरिवाना हुनेजस्ता सन्देशमूलक जानकारीसहित बोर्डसमेत राखिएको छ । टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव पर्ने छ । जनताले पनि ट्राफिक प्रहरीले दिनरात सेवा दिइरहेको अनुभूति गर्ने विश्वास लिइएको छ ।महाशाखाका पहलमा काठमाडौँ महानगरपालिकासँग सहकार्य गरी डमी प्रहरी राखिएको हो ।

मुख्यगरी सिहंहदरबार आसपास माइतीघर, नयाँ बानेश्वर, बालुवाटार, प्रज्ञाप्रतिष्ठान घुम्ती, लैनचौर, भोटाहिटी, रणोद्वीप, भद्रकाली, थापाथली, कालिमाटी, कलङ्की, जडिबुटी, कोटेश्वर, गौशाला, पुरानो बानेश्वर, ल्होत्से चोक, कृष्ण पाउरोटी, पद्मोदय घुम्ती, नागढुङ्गा र जगातीमा राखिएका छन् ।

त्यस्तै महाशाखाले काठमाडाँै उपत्यकाका विभिन्न सडकखण्डमा कोरोना सङ्क्रमणबाट जोगिने उपाय लेखिएका ६० फ्लेक्स बोर्ड पनि राखेको छ । उक्त बोर्डमा सामाजिक दूरी कायम राखौँ, कोरोनाविरूद्धको स्वास्थ्य मापदण्ड सधैँ पालना गरौँ, जोरबिजोर नियमको पालना गरौँ, सधैँ मास्क लगाएर हिँडौँ, अनावश्यक हिँडडुल नगरौँ, ट्राफिक नियमको पालना गरौँजस्ता सन्देश लेखिएका छन् । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्