नेकपामा सहमतिको खाका बनाउने जिम्मेवारी चार नेताले पाए – Janadesh Daily | ePaper

नेकपामा सहमतिको खाका बनाउने जिम्मेवारी चार नेताले पाए


 २२ आषाढ काठमाण्डौ । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी को स्थायी कमिटी बैठक यही असार २४ गतसम्मका लागि स्थगन भएको छ ।

आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुँदा दोस्रो तहका चार नेतालाई सहमतिको खाका बनाउन औपचारिकरुपमा जिम्मेवारी दिइएको थियो ।

कार्यदलमा महासचिव विष्णुप्रसाद पौडेल तथा स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन रहेका छन् । सहमतिका लागि प्रस्तावित भनी बाहिर आएको पाँचबुँदे खाकाका बारेमा अध्यक्ष दाहालको सचिवालयले खण्डन गरी पार्टी एकता नभड्काउन आग्रह गरेको छ ।

यही असार १० गतेदेखि चालु स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरू भित्रभित्र लागेको भनी प्रधानमन्त्री ओलीले दिएको पछिल्लो अभिव्यक्ति र विघटित नेकपा (एमाले) नामकै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि विवाद छताछुल्ल भएको हो ।

संसद् नभएका स्थितिमा राजनीतिक दलसम्बन्धी खारेज भएको अध्यादेश पुनः ब्युँतने संशय पैदा हुँदा हाल त्यस्तो योजना नरहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् । अध्यक्ष दाहालले पनि राष्ट्रपतिसँगको भेटमा परामर्शविना कुनै अध्यादेश जारी नगर्न आग्रह गर्दै आएका छन् ।

दोस्रो तहका नेताहरुले जनादेशानुसार अस्थिरता ल्याउने र कम्युनिष्ट आन्दोलन समाप्त पार्ने गरी कुनै निर्णय वा फुटको स्थितिमा नगई पार्टी एकताबद्ध भई समृद्धि र स्थिरताका लागि एकताबद्ध भएर लाग्न दवाव दिँदै आएका छन् । कतिपय प्रदेश र जिल्ला तहबाट पार्टी नेतृत्वलाई पार्टी एकताका लागि लिखित सुझाव पठाइएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्