जनादेश, काठमाण्डौ ।
कृषि मलखादको अभावका कारण अनाज उत्पादन घट्ने र समग्र उत्पादकत्वमा नकारात्मक प्रभाव पर्न सक्ने भनि चिन्ता व्यक्त भइरहेका बेला पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले भने प्रत्येक बर्ष हुने मलको हाहाकार अन्त्य गर्न चार सुझाव दिएका छन् ।
आज साँझ सामाजिक संजाल टिव्टरमा आफ्नो धारणा राख्दै पुर्व प्रधानमन्त्री डा भट्टराईले भारत, बंगलादेश तथा चीनसँगको संयुक्त लगानीमा नेपालमै कारखाना खोल्न आव्हान गरेका छन् । दोस्रोमा मल बढी उत्पादन हुने खाडी मुलुकसँग सम्झौता गरेर सिधै आयात गर्न उनको सुझाव छ ।
त्यसैगरि तेलमा झैं रासायनिक मलमा पनि भारतसँग द्विपक्षीय सम्झौता गरेर आयात गर्न र चौथौमा देशभित्रै प्रांगारिक मलको प्रबर्धन गर्न डा भट्टराईले सल्लाह दिएका छन् । डा भट्टराईको उक्त टिप्पण्ी प्रति सकारात्मक र नकारात्मक दुवै कोणबाट विभिन्न प्रतिक्रियाहरु आएका छन् ।
केही कम्पनीले सस्तो कबोल गरेर ठेक्का हत्याएपछि पनि खेतीको सिजनमा कृषि मल नल्याएर किसानलाई दुःख दिएपछि उक्त घटनाले सरकारको आलोचना भएको छ । ५० हजार टन मल ल्याउने सम्झौता गरेका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले खेतीको सिजनमा एक बोरा पनि मल नल्याएपछि किसानले मल पाएका छैनन् भने यो बर्ष कृषि उत्पादनमा कटौती आउने हो कि भनेर चिन्ता छाएको छ ।
डा भट्टराईको समर्थनमा भवानी शंकर न्यौपानेले लेखेका छन् : डा. भट्टराईले भन्नुभएको राम्रो हो, त्यसमा पनि हामीलाई हरेक वर्ष अर्बौंको मल चाहिन्छ, त्यस वापत ठुलो धनराशि बाहिरिन्छ, त्यो पनि समयमै नपाएर किसानमा सधै हाहाकार हुने, ठेकेदार चै सधै मालामाल हुने, यस्तो हुँदाहुँदै पनि राज्यले एउटा कारखाना नखोल्नु साँच्चै दुखद हो ।
तर सागर शर्माले भने डा भट्टराईलाई प्रतिप्रश्न गर्दै आफू प्रधानमन्त्री हुम्दा किन नखोलेको रुवा कतिवटा खोल्नुभयो रु सजिलै खल्तीबाट चाबी निकालेर खोल्ने हो र ? भुषालबाले मल कारखाना खोल्ने सरोकारवालासँग अध्यन गर्दे होलान् खुल्ला पनि तर कोरोनाका कारण मल ल्याउन कठिन र अप्ठ्यारो परेको जान्दाजान्दै पनि रोईलो सुहाएन् भनेर लेखेका छन् ।