जनादेश, काठमाडौं ।
दोश्रो संक्रमित फेला पर्ने वित्तिकै देशव्यापी लकडाउन र अनेक प्रतिबन्धका बाबजुद नेपालमा कोरोना संक्रमणदर पछिल्लो समयमा डरलाग्दो दरमा बढिरहेको छ ।
८ महिनाको अवधिमा कोरोना नियन्त्रण हुनुको साटो झनै विस्तार हुने क्रम देखिँदा सर्वसाधारण नागरिकमात्र होइन सरकार सञ्चालन गरिरहेकाहरु समेत डराउन थालेका छन् ।
नेपालमा मंगलबार एकैदिन १ हजार भन्दा बढी संक्रमित थपिएर कुल कोरोना संक्रमितको संख्या ४० हजार ५०० नाघेको छ भने दैनिक थपिइरहने मृत्युदर बढिरहँदा कुल मृतकको संख्या २ सय ३९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले नै १२ जिल्लामा समुदायस्तरमै संक्रमण फैलिइसकेको बताएको छ । समुदायमा संक्रमण फैलिइसकेकाले नागरिक आफैं सचेत नभए अवस्था झनै भयावह हुने चेतावनी समेत मन्त्रालयले दिएको छ ।
भाइरसले ८ महिनाको अवधिका स्वरुप परिवर्तन गरेका कारण झनै खतरा बढेको समेत मन्त्रालयको विश्लेषण छ । जसका कारण सघन उपचार कक्ष वा भेन्टिलेटरको सहायता चाहिने संक्रमितमात्र होइन मृत्युहुनेको दर पनि बढिरहेको छ ।
डरलाग्दो विषय लक्षणविनै मृत्यु
नेपालमा सबैभन्दा खतरनाक पक्ष लक्षण नदेखिने तर संक्रमण भएर मृत्यु हुनेको दरमा देखिएको छ । अहिलेसम्म मृत्यु भएकामध्ये २५ प्रतिशत भन्दा बढी लक्षणविहीन थिए ।
सुरुमा ५० वर्षभन्दा कम उमेर समूहको मृत्यु बढी भएको भएपनि पछिल्लो समयमा वृद्धवृद्धाको मृत्युदर बढेको भन्दै मन्त्रालयले सतर्कताका लागि अपील गरेको छ ।
अहिलेसम्म मृत्यु भएका दुई सय २८ मध्ये २५ प्रतिशत लक्षण भएको पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ । यी मध्ये ५७ जना लक्षणसहितका संक्रमितको मृत्यु भएको महाशाखाको भनाई छ ।
दीर्घरोगीहरु सर्वाधिक जोखिममा
मुटु रोग, मिर्गौलाको समस्या, क्यान्सर, मधुमेहजस्ता जटिल रोग लागेकाहरू सर्वाधिक जोखिममा देखिएका छन् । अहिलेसम्मको मृत्यु आँकडामा यस्ता रोग लागेकाहरुको बाहुल्यता छ ।
निको हुनेदर पनि निराशाजनक
नेपालमा कोरोना निको हुने दर पनि निराशाजनक छ । सार्क मुलुकमध्ये नेपालमा कोरोना लागेर निको हुने दर सबैभन्दा कम छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमित निको हुने दर ५५ प्रतिशतको हारारहारीमा छ । निको हुने दर कम र गम्भीर बिरामी थपिँदै गएकाले मृत्यु संख्या बढिरहेको छ ।
सार्कमा कोरोना निको हुने दर सबैभन्दा राम्रो श्रीलंकामा ९४ दशमलव ८८ प्रतिशत छ भने संक्रमण दर उच्च रहेको भारतमै पनि ७६ दशमलव २१ प्रतिशत निको हुने दर छ । यद्यपि मृत्युदर भने नेपालमा कम देखिन्छ ।