जनादेश काठमाडौं ।
काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । यही भदौ ३ गते बुधबारबाट जारी एक साता लामो निषेधाज्ञा १३ गतेबाट पुनः थप आजसम्म पुर्याइएको थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यस विषयमा छलफल भएको र आज निर्णय हुने जानकारी दिए ।
काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा केही खुकुलो पार्ने कि कडाइका साथ लागू गर्ने सम्बन्धमा निर्णय लिन सकेका छैनन् । सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था नियमित सञ्चालनमा रहेकाले सडकमा सवारीको चाप घटेको छैन ।
उद्योग तथा व्यापार व्यवसायीले निषेधाज्ञा खुकुलो पार्नुपर्ने माग गरेका छन् । काठमाडौँ उपत्यकामा भने कोरोना सङ्क्रमण प्रतिदिन बढ्दै गएको छ । स्थानीय जनप्रतिनिधि तथा नगरप्रमुख, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भने निषेधाज्ञा कडा गर्नुपर्ने सुझाव दिएका छन् । स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना गर्नेगरी केही व्यवसाय सञ्चालन गर्न दिने र निषेधाज्ञा एक साता थप्ने विषयमा छलफल गरिएको छ ।
मोडालिटी फेरिँदै
गृह मन्त्रालयले केही क्षेत्रलाई खुकुलो बनाउनुपर्ने राय आएको भन्दै सोही अनुसार निर्णय गर्ने तयारी गरेको छ । सोहीअनुसार स्वास्थ्य मापदण्ड पालना गर्ने गरी केही आर्थिक क्षेत्रलाई सञ्चालन गर्न दिनेबारे निर्णय गरिने अपेक्षा छ । निषेधाज्ञाको १३ दिन भइसके पनि उपत्यकामा संक्रमण झन् बढिरहेको छ ।