जनादेश, मोरङ ।
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १३७ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये ३३ महिला र १०४ पुरुष छन् । थपिएका सङ्क्रमितमा सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा तीन, पाँचथरमा एक र प्रदेश बाहिरका चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाका अवधिमा सुनसरीको इटहरीमा ५८ जनामा सङ्क्रमण पुष्टि भएको छ जसमा सात महिला र ५१ पुरुष छन् । थपिएका सङ्क्रमितमध्ये धरानमा सात, बर्जुमा दुई, इनरुवा र भोक्राहा नरसिंहमा एकएक पुरुष तथा स्थानीय तह नखुलेका दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
मोरङको विराटनगरमा सोही अवधिमा २१ महिला र २३ पुरुष, धनपालथानमा एक पुरुष, स्थानीय तह नखुलेका दुई पुरुष, झापाको कमल गाउँपालिकामा तीन महिला र तीन पुरुष, मेचीनगरमा तीन पुरुष, बिर्तामोड र गौरीगञ्जमा एकएक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक मन्त्रालयले जनाएको छ ।
उता भोजपुरको हतुवागढीमा तीन पुरुष, पाँचथरको स्थानीय तहमा नखुलेको एक पुरुष तथा प्रदेश बाहिरका दुई महिला र दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेशमा हालसम्ममा कोरोना सङ्क्रमितक्रमितको सङ्ख्या तीन हजार ५९१ पुगेको छ । पछिल्लो २४ घण्टाका अवधिमा ८४ जना डिस्चार्ज भएका छन् । हालसम्ममा डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ६८७ पुगेको छ ।
पछिल्लो २४ घण्टाका अवधिमा प्रदेशमा एक हजार ३४९ जनाको पिसिआर परीक्षण भई हालसम्ममा ९१ हजार ५१४ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।