दलीय व्यवस्थामा दलको नेता नै घाँडो – Janadesh Daily | ePaper

दलीय व्यवस्थामा दलको नेता नै घाँडो


दलीय व्यवस्थामा दल र यसका नेताको भूमिका जीवनरेखाको रुपमा हुने गर्दछ । तर, नेपालमा केही समयता यही दलको नेताहरु मुलुकको लागि पदप्रदर्शक नभई घाँडो भएको छ । सत्तारुढ दल नेकपामा दलहरुबीच भएको अन्तरविरोध र द्वन्द्वले गर्दा मुलुकमा कोभिड–१९ ले आक्रान्त गरिरहेको र मुलुकको विकास ठप्प हुन गई जनता भोकमरीले मरिरहेको अवस्थामा समेत दलका गुट र देशका नेताबीच भएको विवादले गर्दा यी समस्या आझेलमा परेका छन् । यसलाई निकास दिने भन्दा पनि दलका नेता नै मुलुकलाई निकास दिने र विकास गर्ने विषयको बाधक तथा घाँडोसिद्ध भएको छन् ।

उनीहरुमा मुुलुकलाई कसरी विकास गर्ने भन्ने सैद्धान्तिक सोच समेत छैन, तर कसरी आफू पदमा पुगेपछि त्यहाँ जमिराख्ने भन्ने कुराले मुलुक र दलले विकास गर्न सकेका छैनन् । उनीहरु मुलुकको विकासको निम्ति बाधक हुन पुगेको छन् तथा अवरोधक, घाडोको रुपमा हेरिन थालिएको छ ।

सत्तारुढ दल नेकपाभित्र साठी वर्ष नाघिसकेका शीर्ष नेताले मुलुकलाई नेतृत्व दिने तथा आफ्नो समाजवादी लक्ष्य हासिल गर्नुभन्दा पनि कसरी कुर्सीमा पुग्ने तथा टिकिराख्ने भन्ने कुरामा सम्पूर्ण चिन्तन रहेको हुँदा उनीहरुको साख समेत गिर्न पुगेको छ । सत्तारुढ दलको एउटा अंगको रुपमा रहेको नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, ठूला राजनेता तथा उनीहरुबाट समाजवादी आन्दोलन फड्को मार्ने छ भनी हेरिएको थियो तर, यिनै प्रचण्ड अहिले अध्यक्ष पदमा टिकिराख्ने भनी अल्झिरहेको छन् भने यसैसम्बन्ध अन्तरद्वन्द्वले यिनको साख पूरै गिर्न पुगेको छ भने हालको प्रधानमन्त्री खड्गप्रसाद ओली सम्पूर्ण कुरालई बिर्सिएर प्रधानमन्त्री कुर्सीमा जसरी वा जुनसुकै सम्झौता गरी टिकिराख्नुपर्छ भनी बाह्रैमास लागेको देखिएकोले गर्दा प्रधानमन्त्री केपीओली नेता नभई देशको लागि घाँडो साबित भएका छन् । उनले केही गर्न नसक्ने भए तापनि वरिपरि बिचौलिया, माफिया, भ्रष्टचारीको घेराउमा रहेर जसरी पनि प्रधानमन्त्री पदमा टिकिराख्नका निम्ति सबै प्रयास सुरु गरेका छन् । आवश्यक परेमा पार्टी समेत फुटाउन तयार भएका छन् ।

यस्तै लामो समयबाट नेतृत्व गर्दै आएको माधव नेपाल आफ्नो गुट खडा गरी जसरी पनि पदमा पुग्न र आफ्नो मानिस पु¥याउन प्रयासरत रहेको छन् । यसले गर्दा नेकपाका नेताहरु एकता भएपछि एकीकरणलाई पूर्णता दिने तथा मुलुकलाई समाजवादतर्फ डो¥याउनभन्दा आफ्नो पदमा टिक्नका निम्ति हत्तेभई लागेका छन् भन्ने कुरा जनतामा समेत सन्देश प्रवाह भइरहेको छ । अझै पछिल्लो द्वन्द्वले गर्दा यो विषय उत्कर्षमा पुगेको छ ।

यसै महिनामा घटेको जापानी प्रधानमन्त्री सिन्जो आबेले आफ्नो पदको कार्यकाल रहँदासमेत राजीनामा दिएर प्रधानमन्त्रीबाट हटेका छन्, भने मालीका राष्ट्रपतिलाई सेनाले ब्यारेकभित्र राखेर राजीनामा गर्न बाध्य गराएपछि उनले राजीनामा दिएका छन् । यस्तै, बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले धाँधलीपूर्ण निर्वाचन गराई ७० प्रतिशतले विजय भएको घोषणा गरेका छन् । त्यहाँका जनताले यो निर्वाचन कुनैहालतमा नमान्ने भनी उनकै अघि आन्दोलन गरिरहेको अवस्थामा आफूले २६ वर्षको संघर्षपछि प्राप्तगरेको राष्ट्रपति पद कुनैपनि हालतमा नछोड्ने र यो छोडाउन खोजेमा रत्तपात हुनेछ भनी राइफल हातमा लिएर जुलुसको अघि उभिएको घटना भएको छ । रुसको राष्ट्रपति अलेक्जेन्डर पुटिनले आफ्नो आलोचकलाई मस्तिष्कमा प्रभाव पार्ने विष खुवाएर हत्या गर्ने प्रयास गरेको कुरालाई जर्मनीले असफल पारिदिएर उनलाई बचाउने प्रयास गरिरहेको छ ।

पुटिन चारपटक राष्ट्रपति भइसकेपछि पनि अरु दुईचोटी राष्ट्रपति बन्न जनमत संग्रह गरी आफ्नो कार्यकाल २०३६ सम्म पु¥याउन संविधान संशोधन गर्न तत्पर भएका छन् । यस्तो देखिँदा दलीय व्यवस्थामा पद प्राप्त गर्नु, त्यहाँ टिकिरहनु र जनता मरे मरुन्, मुलुक जेसुकै होस् भनी आफ्नो पद निकाइराख्न सक्ने किसिमको तिकडम, हथ्कण्डा अपनाइरहेको देखिँदा सबै दलीय व्यवस्थाका नेताहरु मुलुकमा कुर्सी बचाएर राख्नका लागि र एकपटक कुर्सीमा पुगेपछि छाड्दै नछोड्न जे पनि गर्न सक्ने भएकोले दलीय व्यवस्थामा दलका नेताहरु नै घाँडोसिद्ध भएको देखिएको छ ।

सबै दलीय व्यवस्थामा दक्षिण अफ्रिकाका नेता नेल्सन मण्डेलाजस्ता देखिँदैनन् । उनले आफ्नो कार्यकाल समाप्त हुनेवित्तिकै सत्ता सदाको निम्ति छाडिदिएका थिए भने उनी विश्वप्रसिद्ध भएका थिए । यस्तै भारतीय नेता मोहनदास करमचन्द गान्धीले नेहरुलाई प्रधानमन्त्री स्थापित गरी अरु बाहिर बसेका थिए । तर, सबै मण्डेला र गान्धीभन्दा ठीक उल्टो बाटोतर्फ जनताले नचाहँदा नचाहँदै र आफू जसरी पनि पदमा पुगेपछि त्यसलाई कब्जा गरिरहनुपर्छ भनी मुलुकको लागि घाँडो बन्न पुगेका छन् भने अवरोधको अवस्था पु¥याएका छन्, यसमा पनि नेपाल विशेष ।

निश्चय नै नपालमा पनि पुरानो पुस्ताका नेताहरु आफ्नो समय समाप्त भएपछि आफूले अरुलाई प्रधानमन्त्री बनाएर आफू बाहिर बस्ने तथा पार्टीलाई हाक्ने नेता बनेका थिए । पञ्चायत व्यवस्थापछि गणेशमान सिंहले प्रधानमन्त्री बन्न राजाले बोलाउँदा समेत नगएर कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएर बाहिर रहेका थिए । यसले गर्दा गणेशमान सिंह नेपालको लागि सदा स्तुत्य नेता मानिउको छन् । तर, त्यही काँग्रेसमा अहिले बरु मुलुक जहाँसुकै जाओस् कुनैपनि हालतमा अध्यक्षता पद नछोडी कब्जा गरिराख्नका लागि शेरबहादुर देउवा ज्यान छोडेर लागेका छन्, र सबै प्रकारको गैरसंवैधानिक कार्य गरिरहेका छन् । यस्तै, रामचन्द्र पौड्याल पनि कुनै हालतमा प्रधानमन्त्री हुने भनी शेरबहादुर देउवालाई हटाउन लागिपरको छन् । यिनै रामचन्द्र पौडेलले नैतिकताको कुरा गरेर लोकतन्त्रको भाषण दिँदै हिँडे तापनि उनले प्रधानमन्त्री बन्नका निम्ति उनले १८ पटकसम्म चुनाव लडेका थिए ।

अहिले यी दुवै वृद्ध नेताहरुलाई पार्टीबाट बाहिर अविभावको रुपमा मात्र राख्ने प्रस्ताव आएको छ । तर, उनीहरु पद छोड्न कुनै हालतमा नछाड्ने भएपछि काँग्रेसनै ढुब्ने अवस्थामा पुगेको छ । यी दुवैले वी.पी. को लोकतान्त्रिक समाजवादी सिद्धान्तलाई नांगो रुपमा छोडेर जसरी पनि सभापति तथा प्रधानमन्त्री पद प्राप्त गर्न ज्यान छोडी लागेका थिए । आफ्नै सभापति गिरिजाप्रसाद कोइरालालाई धोका दिई पार्टी विभाजन गरी राती ११ः४५ बजे नारायणहिटीको पछाडिको ढोकाबाट भित्र छिरेर प्रधानमन्त्री पद खाएका थिए । अहिलेपनि आफ्नो शक्ति बढाउन केपी शर्मा ओलीको बालुवाटार पुग्ने र आफूलाई प्रधानमन्त्री कायम राख्नका निम्ति आफ्नो मानिसबाट भोट तान्नका लागि पदमा बहाली राख्न दबाब दिने कार्यमा लागेको छन् । उनीलाई महाधिवेशनको कुनै चिन्ता छैन, आफ्नो अध्यक्ष पद छोड्नुपरेकोमा नै सबै किसिमको चिन्ता रहेको देखिएको छ ।

यो सबै कार्यहरु दलमा हुनुपर्ने वैचारिक प्रष्टता नभएर रिक्तताले गर्दा भएको छट्पटिटको रुपमा देखिएको छ । उनीहरुलाई विचारको महत्व छैन । खाली कुर्सी टिक्ने सम्बन्धमा स्वार्थ रहेको छ । अहिले नेकपाभित्र देखिएको विवाद पनि यही वैचारिक रिक्तताले गर्दा समाजवाद हुनेहरुको लागि केही पनि नभएको र प्रधानमन्त्री वा अध्यक्ष वा मन्त्रीका पदहरु भए तत्काल लाभ हुनसक्ने भएकाले कुनै पनि हालतमा यी पद छाड्ने स्थितिमा नहुनुले उनीहरु समाजवादको विकास र मुलुकको विकास लागि घाँडो साबित हुँदै गएका छन् । उनीहरु पदको निम्ति जे पनि गर्न तत्पर हुने तथा वरिपरि बसेका व्यक्तिलाई विभिन्न पदमा स्थापित गरी आफूलाई बलियो देखाउने प्रयासले गर्दा हिजाको दुईतिहाई मत प्राप्त गरेको नेकपा अहिले बिस्तारै जनताबाट टाढिएको छ । भोलि जनतामा जानसमेत ढराएका छन् र जनताले उनीहरुलाई पूरै फालिदिने अवस्थामा पुगेका छन् ।

यस्तै अर्का नेता पुष्पकमल दाहाल जनयुद्धको समयमा अन्तर्राष्ट्रियस्तरको नेता बनेका थिए । उनले नेपालको समाजवादी विकास र मुलुकको विकास गर्छन भन्ने जुन आशा लिएका थिए, अहिले उनीपनि चौबीसैँ घण्टा आफ्नो अध्यक्ष पद २८ वर्षसम्म ओगटेर बसेर अरुलाई कुनै पनि हालतमा उक्त पदमा पुग्न नदिन संघर्ष गरिरहेको हुँदा उनीप्रति पनि वितृष्णा पैदा भएको छ । उनले आफ्नो माओवादी विचार छाडेर पदमा पुग्ने विचारलाई मात्र सबै थोक ठानेको देखिएको छ ।

आफ्नो छोराछोरी, नातागोता, भाइबुहारी आदिलाई पदमा पु¥याएर बलियो हुने विषयमा मात्र लागि परेका छन् । यसले गर्दा नेकपाका नेताहरुमा बढ्दै गएको पद लोभले गर्दा उनीप्रति रहेको जनताको आकर्षण घट्दै गएको छ । यो घटेको आशा पुनःप्राप्त गर्न कति कठिन हुन्छ भन्ने कुरा पदको आशक्तिले बिर्सिएको जस्तो दखिन्छ । चार महिनादेखि नेकपाभित्र चुलिएको नेताहरुबीचको संघर्ष कुनै वैचारिक, सैद्धान्ति, समाजवाद एवम् मुलुकलाई कसरी अघि बढाउने भन्ने थिएन, ओलीलाई जसरी भएपनि प्रधानमन्त्री छोड्दै नछोड्ने बरु पार्टी विभाजन गरेर भएपनि आफू प्रधानमन्त्री पदमा रहिरहने आकांक्षा नै रहेको छ ।

अहिले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको स्वास्थ्यको कारण हिँड्नै नसक्ने तथा उनलाई चारजनाको सहयोगमा हिँडाउनुपर्ने स्थितिमा पुगेका छन् । तर, उनी जापानको प्रधानमन्त्री आवेले प्रधानमन्त्री पद छोडेको कुरालाई पूरै बिर्सिएको देखिन्छ । नेतामा देखिएको पदप्रतिको उत्कृष्ट आकांक्षा र पदमा रहिरहने चाहनाले गर्दा मुलुक नै संकटमा पर्दा समेत आफ्नै पदको लागि संघर्षरत् रहेको थिए । जनतामा पार्टीका नेताहरुमा देखिएको पदप्रतिको लिप्साले गर्दा यसलाई अन्यत्र ध्यान मोड्ने तथा यसलाई सैद्धान्तिकरण गर्नका लागि असंवैधानिक रुपमा एकताको लागि भनी कार्यदल गठन गरिएको थियो ।

कार्यदलले २०७६, मंसिर ४ गतेकै सहमति भनेर यसलाई पुनव्र्याख्या गरी उनीहरुको पद प्रधानमन्त्री दुवैलाई टिकाइराख्नका लागि उनीहरुकै मानिसले प्रतिवेदन बुझाएको देखिन्छ । यो एउटा स्वाङ मात्र हो । यो कुनै सैद्धान्तिक र वैचारिक होइन । कार्यपद्धति, विधिविधानमा कार्यदल चलाउने र यसलाई कम्युनिष्ट पार्टीको रुपमा समेत विकास गर्न चाहेको थिएन । यी सबै कुराहरु वैचारिक शून्यताको उपजमात्र थिए ।

सिद्धान्तहीन राजनीति, आस्थाच्युत राजनीतिकर्मी, पारम्परिक संस्कृति, गतिहीन समाज, दिशाहीन नेतृत्व एवं मोहावस्थामा रहेको निरीह जनता रहेको देशको परिणामको रुपमा रहेको छ । यो कार्यदलले दिएको प्रतिवेदनले पार्टीको एकीकरणको लागि भनिए तापनि प्रधानमन्त्री ओलीको दुवै पद जोगिने र पुष्पकमल दाहालको भूमिका बढाउने कुरामा सीमित रहेको देखिन्छ । यसले कम्युनिष्ट पार्टीको व्यवस्थालाई अगाडि बढाउने कुनै ठोस काम गर्ने भने देखिँदैन ।

बीचमा रहेर फाइदा उठाउनका लागि दत्तचित्त भएर रहेको बामदेव गौतमको काण्डले गर्दा गौतमलाई राष्ट्रसभामा ल्याउने कुराले अर्काे नयाँ विवाद र नेताहरुमा रहेको निर्लज्जापनलाई उजागर गरिदिएको छ । यसले गर्दा माओवादीको सचिवालयको बैठकको नाममा जनताले पराजय गराएको ३३ महिनापछि गौतमलाई जनादेशविपरित राष्ट्रसभामा मनोनित गराउने निर्णय गर्नु र ओलीको निकट मानिएको युवराज खतिवडालाई बालुवाटारमा नै मिलाएर व्यवस्थापन् गर्ने सहमति भएपछि नेतामा रहेको आकांक्षा र चरित्रलाई पुनः उद्घाटित गरेको छ ।

ओली यसअघि पनि उपप्रधानमन्त्री भइसकेको र अहिले पनि राष्ट्रियसभाको सदस्य भएपछि उनी पुनः उपप्रधानमन्त्री तथा अर्थमन्त्री हुने चाहना राखेकाले गर्दा बामदेव गौतम पनि पार्टीको नेतृत्वमा रहेको अवरोधकको रुपमा देखिएको छन् । २०७४ मंसिरको चुनावमा बर्दिया–१ बाट पराजित भएयता प्रतिनिधिसभाको सदस्य बन्नका निम्ति गौतमले बारम्बार प्रयास गरेका थिए । यसरी बर्दियाका जनताले पराजय गराएपछि पुनः ३३ महिनापछि राष्ट्रपतिद्वारा मनोनित कोटामा पुगेर, राष्ट्रिय सभामा पुगेर मन्त्रीपरिषद्मा गएर लाभ लिने पक्षमा पुगेका छन् । उनलाई फकाउनका लागि प्रधानमन्त्री ओलीले गत फाल्गुन १४ गते सांसद्मा पठाउने कुरालाई कार्यान्वयन गर्न गौतमलाई मनोनित गरेर मन्त्री बनाउन लागेको देखिन्छ ।

प्रधानमन्त्री ओलीले उनको राजीनामाको माग भएपछि बामदेव गौतमलाई सक्रिय पारेर सचिवालयको बैठकबाट आफ्नो समर्थन चाहेका थिए । तर, हालको स्थितिमा बामदेव गौतमलाई मनोनित गरेपछि सचिवालयमा ओलीको पक्षमा अल्पमतमा पुगेको छ । अहिलेको विवादमा ओली यही सचिवालयमा बहुमत छ भनेर त्यसैबाट निर्णय गराउने वा महाधिवेशनबाट निर्णय गराएर आफू प्रधानमन्त्रीमा टिकिराख्ने प्रयासमा रहेका थिए । तर, अर्काे पक्ष ओलीको राजीनामा गर्न स्थायी वा केन्दीय समितिबाट निर्णय गर्ने पक्षमा पुगेको थिए । अहिले कार्यदलको नाममा ओलीले दुवै पदमा बसिरहने तथा महाधिवेशनपछि पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षमा ल्याउने सहमति भएपछि बामदेवलाई राष्ट्रियसभामा ल्याउने सहमति भएको देखिन्छ ।

अहिलेको निर्णयले ७० वर्ष उमेर नाघेको वृद्धनेता बामदेव गौतम जसरी भएपछि सत्ताको कार्यकारी पदमा पुगेर हालिमुहाली गर्न चाहन्छन् भन्ने देखाएको छ । बामदेव गौतम पहिलादेखि नै सुन तस्करीलगायत भ्रष्टचारको मुद्दाहरुमा बद्नाम भएको व्यक्ति हुन् । अहिले पनि उनी सांसद्मा मात्र नभई उपप्रधानमन्त्री तथा अर्थमन्त्री भई यसको कार्यकारी पदमा बहाल रही हालीमुहाली गर्न चाहेका हुन् ।

उनी सबैलाई एउटै खाल्डोमा जाख्नुपर्छ भन्ने पक्षको व्यक्ति भएकाले उनी कसैको पनि मानिसको रुपमा देखिएका छैनन् । ओली हिंजौ नवौं अधिवेशनमा सघाएको भए तापनि निर्वाचनपछि नै उनले ओली गुट छोडेको घोषणा गरेका थिए । उनी प्रतिनिधिसभाबाट प्रधानमन्त्री जसरी भए पनि हुन चाहन्थे । त्यो नभएपछि अहिले मन्त्रीमै भए तापनि त्यसबाट लाभ लिन लागेको देखिन्छन् ।

बहुदलीय व्यवस्थामा नेपालमा ७० वर्ष लगाएर क्रान्ति गरेर राजतन्त्र फाल्न सफल भएको भनी दावा गरेपनि उनीहरुले देशको परिवर्तन र गणतन्त्रलाई संस्थागत गर्न सकेको पाइँदैन । क्रान्तिको उपलब्धिलाई स्थिर राखी अघि बढ्न संस्कार, प्रतिबद्धा र निर्णय शक्ति चाहिन्छ, जुन नेपालको प्रधानमन्त्रीमा कमी देखिएकाले लोकतन्त्र र समाजवादको भविष्य सम्बन्धमा नै प्रश्न उठाउने काम स्वयम नेतृत्व वर्गले गरेको देखिन्छ । उनीहरु देशको विकास र वैचारिक परिवर्तनको दिशामा अवरोध भएको छन्, भने घाँडो सिद्ध हुँदै गएका छन् ।

मन्टेस्क्युले १८ औँ शताब्दीको अन्त्यतिर नै भनेका थिए,‘शक्ति भ्रष्ट हुन्छ, बढी शक्ति बढी भ्रष्ट हुन्छ,’त्यसैले शक्तिलाई एक ठाउँमा केन्द्रिकृत हुन नदिन, शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त सुरु भएको हो । अहिले केपीशर्मा ओली नेतृत्वमा पुगेदेखि नै सबै शक्ति आफ्नै हातमा लिएर केन्द्रिकृत भएको छन् ।

अहिले सेक्युरिटी प्रेस खरिद गर्नेदेखि मल खरिद गर्नसम्म आफै तातिएर लागेका छन् । उनी आफ्नो आलोचना सुन्न पटक्कै चाहेको देखिँदैन । उनमा बढेको शक्तिको उन्मादले गर्दा उनी गतिशील पञ्चायती राजतन्त्रमा जस्तै एकनिष्ठ भक्ति र समर्थन चाहेको छन् । यसैले सरकारले चलाएको सञ्चारमाध्यमद्वारा आफ्नै पातामा आफै स्याबासी लिएर आफै दंग परेका छन् ।

यस्तै, तेस्रो विश्वमा संस्थागत् विकास हुन नसक्दा मुलुकमा लोकतन्त्र गुमेको भन्ने धारणा रहेको पाइन्छ । ‘प्रजातन्त्रको तेस्रो लहर’ नामक पुस्तकमा यस कुरा उल्लेख भएको छ । दुईतिहाई भनिएको स्थिर सरकार छ, तर गतिहीन अवस्थामा ।

बालुवाटारबाट निर्देशन दिइन्छ, तर जनतासँग प्रत्यक्ष भेटिन सकिएको देखिँदैन । संस्थालाई प्रत्येक दिन ध्वस्त पारिँदैछ र कुनै कुरामा पनि संस्थागत विकास हुन दिइएको छैन । नेतृत्व तीन किसिमको हुन्छन्, परम्परागत नेतृत्व, चमत्कारिक नेतृत्व र संस्थागत नेतृत्व । लोकतन्त्रमा संस्थागत नेतृत्वबाट विकास गरिन्छ । अहिले नेपालमा परम्परागत नेतृत्व रहेको छ । बिचौलिया, माफिया सक्रिय रहेको छन् । तेस्रो नेतृत्वमा चमत्कारिक हुने गर्दछ, तर यो सदा रहँदैन ।

पुष्पकमल दाहाल प्रचण्डमा जनयुद्धपछि यो चमत्कारिक व्यक्तित्व विकास हुन थालेको थियो तर, यो समाप्त भइसकेको छ । ओलीमा पनि कुनै समय चमत्कारिक व्यक्तित्व देखिए तापनि यो भुत्ते भइसकेको छ । तर, उनी आफूलाई त्यही चमत्कारिक व्यक्तिमा आफूमा रहेको छ भनी अरुलाई केही नठान्ने आफूलाई जे मनलाग्यो त्यही गरी बहुदलीय व्यवस्थामा समुहिक नेतृत्व हुनुपर्नेमा व्यक्तिगत नेतृत्व गरी मनपरि गरेको देखिन्छ ।

अहिले लहडबाजीमा राज्य चलाउन चाहन्छन्, उखान तुक्का, उनको मन्त्रीपरिषद्ले गरेकोले गर्दा उनले विकास सैद्धान्तिक र संगठनात्मक भन्दा पनि हाँसो ठट्टालाई लिएको देखिएको छ ।

सामान्य मानिस र नेतामा फरक हुने गर्दछ । अरुलाई पथप्रदर्शन गर्ने भएकाले नेताले समयको अवस्था, समय र परिस्थितिको बढी मूल्याङ्कन गर्न आवश्यक हुन्छ । तर, नेकपाको नेताको चरित्रलाई हेर्दा उनीहरु समस्या समाधान गर्नुभन्दा पनि आफै समस्याको रुपमा रहेको छन् र उनीहरु देशको लागि घाँडोसिद्ध भएका छन् । यस्तै नेपाली काँग्रेसको नेतापनि देशमा लोकतन्त्र नभएर कसरी सत्ता र शक्ति हत्याउने भन्ने कुराको पछि लागेको छन् ।

सबैले युवाको कुरा गरे तापनि युवाशक्तिलाई आन्दोलनविहीन स्थितिमा पु¥याएको र उनीहरुलाई पनि विदेशी भूमिमा वैदेशिक रोजागरीको आकांक्षामा पु¥याएको हुँदा युवाशक्तिहीन पुगेको छ । युवालाई नेतृत्व दिने भने तापनि बूढाहरुले नेतृत्व नछाडेपछि कुन स्थानमा नेतृत्वको मौका दिने भन्ने प्रश्न उठेको छ ।

त्यसैले उनीहरु गणेश संस्कृतिलाई अंगालेर नेताको वरिपरि घुमेर पद प्राप्त गर्नका लागि अहिलेदेखि नै प्रयासरत रहेकाले अहिलेको नेतृत्वको कारणले गर्दा अहिले मात्र नभई भविष्यमा समेत यसको प्रभाव रहिरहने छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्