रथ तान्ने क्रममा पक्राउ परेकाहरुलाई रिहाइ गर्न माग गर्दै ललितपुरका युवाहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
प्रशासन कार्यालय अगाघि पुगेका युवाहरुलाई प्रहरीले तितरबितर पारेको थियो ।
गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्नेक्रममा पक्राउ परेका युवाहरुलाई छाडन भन्दै सोमबार बिहान स्थानीय केही युवाहरु प्रशासन कार्यालय घेराउ गर्न पुगेका थिए ।
प्रशासन कार्यालय पुगेका युवाहरु धर्नामा बस्न थालेपछि प्रहरीले रोकेको हो । प्रहरीले धर्नामा बस्न नदिएपछि युवाहरु प्रहरी नभएको स्थानमा भेला भएका थिए । अहिले प्रशासन कार्यालय आसपास क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन भएको छ ।
गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति बिना जबरजस्ती मत्स्येन्द्रनाथको रथ तानेपछि ललितपुरको पुलचोकमा दिनभर विवाद उत्पन्न भएको थियो । युवाहरुले ट्राफिक प्रहरीलाई समेत कुटपिट गरेका थिए । उनीहरुमध्ये केहीलाई पक्राउ गरेर मुद्दा चलाइएको छ ।