जनादेश, काठमाण्डौ ।
काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले स्थानीय पूर्वधार विकास साझेदारी कार्यक्रममा विनियोजित रकम प्रत्येक निर्वाचन क्षेत्रमा कोरोना रोकथाम र नियन्त्रणमा खर्च गर्न माग गरेका छन् ।
संघीय संसदमा सत्ता पक्ष र प्रतिपक्षका २० सांसदले सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र वुझाउँदै यस्तो माग गरेका हुन् । कोरोना भाइरसले भयावह अवस्था आएको भन्दै उनीहरुले जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाउन सहयोग मागेका हुन् ।
आर्थिक बर्ष २ हजार ७६/७७ को बाँकी रकम र आर्थिक बर्ष २ हजार७७/७८ को विनियोजित रकमबाट हरेक निर्वाचन क्षेत्रमा आइसोलेशन वार्ड बनाउन खर्च गर्नुपर्ने उनीहरुको माग छ । त्यस्तै उनीहरुले कोरोनाले दैनिक ज्यालामजदुरी गर्नेदेखि शैक्षिक संस्था, आम उपभोक्ता वर्गमा ठुलो समस्या पारेको भन्दै यस्तो अवस्था र प्रभावको मात्रै अनुगमन गरेर सरकारलाई सुझाव दिन संसदीय समिति गठन गर्न माग गरिएको छ ।
कोरोनाको विषम परिस्थितिमा सञ्चार जगतले खेलेको भूमिका सह्रानीय रहेको निष्कर्ष निकाल्दै सांसदहरुले स्वास्थ्यकर्मी, नागरिक समाज र ब्यवसायीसँग अन्तरक्रिया गर्न पत्रमा आग्रह गरेका छन् । यो कठिन अवस्थामा सञ्चार जगतले खेलेको भूमिकाको सरकारी पक्षले गम्भीर भएर विशेष प्याकेजको ब्यवस्था गर्न माग गरिएको छ ।
ध्यानाकर्षण पत्र वुझ्दै सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुको माग जायज र सकरात्मक भएको भन्दै सांसदले पाउने रकम कोरोना भाइरस नियन्त्रण र रोकथाममा लगाउन पहल गर्ने बताएका थिए ।
ध्यानाकर्षण पत्रमा ५० हजार भन्दा बढीमा कोरोना संक्रमण भैसक्दा समाजमा घृणा फैलाउने क्रियाकलाप रोक्न र सद्भाव फैलाउन राजनीतिक दल, सामाजिक संघ संस्था तथा सामाजिक अगुवा परिचालन गर्न सामूहिक रुपमा निर्देश गर्न माग गरिएको छ ।
प्रतिनिधिसभामा निर्वाचित १ सय ६५ सांसदले ४ करोडको दरले ६ अर्ब ६० करोड तथा र प्रदेश सांसदले ३ करोडको दरले ९ अर्ब ९० करोड खर्च गर्दै आएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदले हरेक बर्ष स्थानीय पूर्वधार विकास साझेदारी कार्यक्रममा खर्च गर्ने १६ अर्ब ५० करोड आफूखुसी खर्च गर्दै आएका छन् ।
यो रकम कोरोना रोकथाममा खर्च गर्ने हो भने धेरै प्रभावकारी हुने सांसदहरुको भनाई छ ।