चन्द्रप्रकाश नेपाली, घोराही ।
दाङमा एक प्रहरी हवल्दार माथी चक्कु प्रहार भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ आदर्शटोल स्थित जाजरकोट घर भई हाल सुर्खेती होटल सञ्चालन गर्दै आएकी ४० बर्षिया इन्द्रा थापाले प्रहरी हवल्दार ३७ बर्षका खड्कबहादुर खत्रीलाई चक्कु प्रहार गरेका हुन् ।
मुगु घरभएका प्रहरी हवल्दार वडा प्रहरी कार्यालय लमहीमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत थिए । ति महिलाले होटलमा बोलाई प्रहरी हवल्दार खत्री माथी चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट टाउको, नाक र ढाडमा चोट लागेको छ ।
घाईते खत्रीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार पछि डिस्चार्ज गरिएको र चक्कु प्रहार गर्ने महिलालाई नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो ।
खत्रीले आफ्नो बेज्जत गरेको र चक्कु हानेको महिलाले बयान दिएका छन् । यता प्रहरीले भने ति महिला विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरि अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक गौतमले जानकारी दिनुभएको छ ।