जनादेश, ललितपुर ।
छैठौं शताब्दीदेखि चल्दै आएको भोटो देखाउने परम्परा यस वर्ष स्थगीत भएको छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण यस वर्ष भोटो नदेखाई रातो मच्छिन्द्रनाथलाई सोमबार बुंगमती लगिने भएको छ ।
यो परम्परा सुरु भएदेखि आज पहिलोपटक रोकिएको हो । उपत्यकामा वर्षोदेखि चलिआएको रातो मछिन्द्रनाथको रथ यात्रामा भोटो देखाउने चलन इतिहासमै पहिलो पटक रोकिएको नेवार समुदायका अग्रजले बताएका छन् । यस अघि कहिले पनि भोटो जात्रा रोकिएको थाहा नपाएको उनीहरुले बताएका छन् ।
भोटो जात्रा सकिएपछि मात्र रातो मछिन्द्रनाथ देवतालाई बुंगमती लगिने चलन थियो । तर कोरोना महामारीका कारण यस पटक भने रथयात्रा पुरा नहुँदै बीच बाटोबाटै देवतालाई रथबाट ओरालेर बुंगमती लगिने भएको छ ।
गुठी संस्थानका अनुसार दिउँसो ३ बजे देवतालाई बुंगमती लगिने भएको छ भने पुल्चोकमा रहेको मिमनाथलाई तानेर टंगल पुर्याइने छ ।