जोडिएकै हो त चुँडिन लागेको नेकपाको एकताको डोरी ? – Janadesh Daily | ePaper

जोडिएकै हो त चुँडिन लागेको नेकपाको एकताको डोरी ?


सुभाष साह

काठमाडौं । सत्तारूढ दल नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ । नेकपाको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको थियो । बढ्दै गएको विवादले पार्टी विभाजनको खतरामा पुगे पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लगातारको छलफल र संवेदनशीलताले पार्टीलाई विभाजन हुनबाट बचाएको नेताहरूले बताएका छन् ।

दुई अध्यक्षबीच लामो समयसम्म भएको ‘वान टु वान’ छलफल र संवादले नेकपामा देखिएको संकटलाई समाधान गरेको दुई अध्यक्षहरूकै पछिल्ला अभिव्यक्तिले पुष्टि गरेको छ । अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी एकताको पक्षमा दिएका अभिव्यक्तिले नेकपामा चुँडिन लागेको एकताको डोरी जोडिएको विश्वास अन्य नेता तथा कार्यकर्ताहरूले गरेका छन् । स्रोतका अनुसार नेकपा फुट्छ कि भन्ने चिन्ताले देशभरका कार्यकर्ता र दोस्रो तहका युवा नेताले दबाब दिँदै आइरहेका छन् ।

दलभित्र हुने बहस र विवादलाई निष्कर्षमा पु-याउने काम सम्बन्धित पार्टी र नेताको भएकाले सहज समाधान निस्कन्छ । यसका लागि धैर्यता र संयमता आवश्यक छ : प्रम ओली

OOOOOOO

हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन हदैसम्म लचकताका साथ लागिपरेको छु । एकअर्कालाई उकास्ने काम कसैले नगरौं : दाहाल

सोही दबाबकै कारण अध्यक्षद्वय पार्टीलाई एकजुट बनाएर लैजाने निष्कर्षमा पुगेको बताइएको छ । प्रधानमन्त्री ओलीले गत शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै पार्टीभित्रको समस्या छलफलमै टुंगो लगाउने प्रतिबद्धता जनाएका थिए । ओलीले कुनै पनि राजनीतिक दलभित्र हुने बहस र विवादलाई निष्कर्षमा पु¥याउने काम सम्बन्धित पार्टी र नेताको भएको भन्दै सहज समाधान निस्कने विश्वास दिलाएका थिए ।

पार्टीभित्र पछिल्लो समय चर्किएको विवादका विषयलाई लिएर पार्टीभित्र हुने छलफल, बहस र विमति नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रियासमेत भएको भन्दै उनले ती सबै समस्या समाधान हुने दृढता व्यक्त गरेका थिए । उनले आमनेता तथा कार्यकर्तालाई धैर्य र संयम रहन आग्रह गर्दै पार्टीभित्र देखिएका तमाम विवाद छलफल र संवादको माध्यमद्वारा हल गरिने बताएका थिए । प्रधानमन्त्री ओलीले समस्या समाधान गर्न आपूmले हदैसम्मको प्रयास गरेको बताएर पार्टी एकतालाई कुनै हालतमा पनि टुट्न नदिने संकेत गरेका छन् ।

यस्तै, नेकपा अध्यक्ष दाहालले आइतबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरे । पार्टी एकतालाई जोगाउने दायित्व सबै नेता, कार्यकर्ताको रहेको बताउँदै उनले आफूले समेत त्यसका लागि हदैसम्मको प्रयास जारी राख्ने बताए । दाहालले चितवनमा गएर पार्टी एकताको पक्षमा अभिव्यक्ति दिएपछि कार्यकर्ता पंक्तिमा समेत उत्साह छाएको छ । ‘अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहोला । सबैले पार्टी एकताका पक्षमा नारा लगाए एकता जोगिन्छ,’ आफ्नो गृहजिल्ला चितवन पुगेका दाहालले भने । पार्टीमा देखिएका पछिल्ला संकट समाधान गर्न गम्भीर छलफल भइरहेको बताउँदै उनले पार्टीमा विवाद आउनु नौलो कुरा नभएको जनाए ।

उनले विचार, विधि र जनवादी केन्द्रीयताका आधारमा एकताबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिस्ट पार्टीका कार्यकर्ताले मान्नै पर्ने बताए । पार्टीमा विवाद भएमा विधिबाट समाधान खोजिने बताउँदै उनले पार्टी र नेतालाई उक्साउने प्रवृत्तिविरुद्ध खबरदारी गर्नुपर्ने आवश्यकता आंैल्याए ।

नेकपा सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी विभाजन गर्ने मुर्खतापूर्ण कार्यमा कोही पनि नेता नलाग्ने विश्वास व्यक्त गरेका छन् । पार्टी र सरकार सञ्चालनका क्रममा जारी स्थायी कमिटी बैठकमा विभिन्न कोणबाट छलफल भइरहेको बताउँदै उनले पार्टी नै विभाजन हुने खतरा टरेको स्पष्ट पारे ।

‘बैठकमा विभिन्न कोणबाट छलफल हुने क्रम जारी नै छ, नेताहरूको सुझाव सल्लाह आइरहेको छ तर पार्टी नै विभाजन हुने अवस्था अन्त्य भइसकेको छ,’ पोखरेलले भने । कतिपयको आशंका पार्टी विभाजन हुने रहेको भए पनि त्यो मुर्खतापूर्ण कार्यमा कोही पनि नेता र कार्यकर्ता नलाग्ने उनले दाबी गरे ।

तत्कालीन एमाले र माओवादीबीच एकीकरण हुँदा पार्टी एकता महाधिवेशन सहमतिमै गर्ने भद्र सहमति भएको बताउँदै उनले त्यतिबेलासम्म विगतको समझदारीकै आधारमा अगाडि बढ्ने बताए । नेकपा स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले अध्यक्षद्वय ओली र दाहालबीच गम्भीर छलफल भइरहेको बताउँदै छिट्टै नै निष्कर्षमा पुगिने बताए । पार्टीमा केही विवाद देखिएको भए पनि विगतदेखि नै सहमतिकै आधारमा टुंगो लगाएर अगाडि बढिरहेको उनले स्मरण गरे ।

‘पार्टीमा प्रश्नहरू उठछन्, त्यसको समाधान हामीले छलफलबाट सहमतिमा नै गरेको इतिहास साक्षी छ,’ मण्डलले भने, ‘अहिले देखिएका केही असहमतिलाई कसरी समाधान गर्ने भन्ने विषयमा अध्यक्षद्वय छलफलमै हुनुहुन्छ । समाधान गरेर अगाडि बढ्नुहुन्छ तर पार्टी नै फुट्छ भन्ने कुरामा सत्यता छैन ।’

शीर्ष नेताहरू आआफ्नो अडानमा अडिग भएपछि जारी स्थायी कमिटीको बैठक भने २ साउनसम्मका लागि स्थगित भएको छ । यसअघि पनि बैठक बोलाउने र स्थगित गर्ने क्रम जारी नै रहेको थियो ।

नेकपा संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पार्टीभित्र सहमतिको विकल्प नभएको बताए । अध्यक्षद्वय ओली र दाहालको पछिल्लो अभिव्यक्तिले पनि त्यही पुष्टि गरेको उनले स्पष्ट पारे । पार्टी एकता र जनमतको उचित मूल्यांकन गर्दै अगाडि बढ्नेमा नेकपा सचेत रहेको नेम्वाङले बताए ।

‘पार्टीमा छलफल हुने क्रममा प्रश्नहरू उठछ, त्यसको समाधान पनि हुन्छ,’ नेम्वाङले भने, ‘तर पार्टी फुटाउन दिशामा कोही पनि जानुहुन्न किनभने पार्टी फुटाएर जनतालाई दिने जवाफ नै हामीसँग हुँदैन ।’

यस्तै, नेकपा स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले पार्टी एकताको विकल्प नभएको बताए । शीर्ष नेतृत्व तहमा छलफलकै माध्यमबाट सहमति खोज्ने प्रयास जारी नै रहेकाले पार्टी फुट्ने कल्पना गर्नु ठीक नभएको उनले बताए ।

नेकपा स्थायी कमिटीका सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेताहरू आआफ्नै अडानमा भए पनि छलफल जारी रहेकाले सकारात्मक सन्देश आउने विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले शुक्रबार फेसबुकमा लेख्दै नेकपा विवाद साम्य भएको स्पष्ट पारेका छन् । ‘पार्टी एकताको चुड्न लागेको डोरी अध्यक्षद्वयले जोड्ने र त्यसमा सबैको सकारात्मक साथ रहने विश्वाससहित म बुटवल फर्किएको छु,’ पोखरेलले फेसबुकमा लेखेका छन्, ‘जुलुस र वाद प्रतिवादका सबैखाले गतिविधि स्थगन गरेर पीडामा रहेका जनताको सेवामा जुटौं । बेमौसमी बाजाको कर्कश धुन कसैलाई प्रिय हुँदैन ।’

पार्टी एकतालाई दुर्घटनामा पर्नबाट जोगाउँदै संवादको प्रक्रियालाई अघि बढाउन भूमिका खेल्ने सबै धन्यावादका पात्र रहेको उल्लेख गर्दै उनले पार्टी एकताले नै आजको शक्ति आर्जन भएको हो र पार्टी एकताको रक्षाबाट नै उज्यालो भविष्य सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् ।

स्रोतः आजको राजधानी दैनिकबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्