क्रिकेट खेलाडी भण्डारीको उपचारमा सरकारको सहयोग हुने – Janadesh Daily | ePaper

क्रिकेट खेलाडी भण्डारीको उपचारमा सरकारको सहयोग हुने


काठमाडौँ ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । मन्त्री विश्वकर्माले स्थानीय ग्राण्डी अस्पतालमा उपचाररत भण्डारीको अवस्थाबारे आज त्यहाँ पुगेर जानकारी लिनुभयो ।

सो अवसरमा उहाँले भण्डारीको स्वास्थ्यलाभको कामना गर्दै उहाँको उपचारमा सरकारका तर्फबाट आवश्यक सहयोग रहने आश्वासन दिनुभयो । उहाँको उपचारका विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालसित छलफल गर्ने जानकारी पनि दिनुभयो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीले कम्तीमा पनि अझै एक महिना अस्पतालमा बस्नुपर्ने छ । भण्डारीको गत साता हात र खुट्टाको शल्यक्रिया गरिएको थियो । उहाँ गत साता कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते हुनुभएको थियो ।

भण्डारीलाई कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि ग्रान्डी अस्पताल ल्याइएको हो । दुर्घटनामा उहाँको दायाँ खुट्टा र हात भाँचिएको थियो । भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँहाते तीव्र गतिका बलर हुनुहुन्छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्