प्रकाश सुवेदी
२०५२ सालमै माध्यामिक शिक्षकको रुपमा रोल्पाको घोडागाउँमा अध्यापन गराउँदै गर्दा नै अनौपचारिक रुपमा भए पनि विधार्थीहरुमाझ छन्दकविता लेखन र वाचन कला प्रशिक्षणको थालनी गरेका देवी नेपाल २०५३ सालमा कीर्तिपुरबाट बिएड गर्ने क्रममा अभ्यास शिक्षणको लागि टौदह राष्ट्रिय उच्च माध्यामिक विधालयमा खटिएका थिए। एक दिन कक्षा १० को नेपाली विषयको पाठ्यक्रममा रहेको `इच्छा´ कविता पढाउने सिलसिलामा लयवद्ध वाचन गर्दा एक जना विधार्थीले `स्वाहा´ भनिदिएपछि विधार्थीहरुले अज्ञानतावश छन्दकविता प्रति अवहेलना, अवमूल्यन, र उपेक्षा गर्ने प्रचलनलाई उनले राम्रोसँग बुझ्ने अवसर पाए।
यहाँका विधार्थी एक प्रतिनीधि पात्र हुन, यो प्रचलन र उट्पट्याङ प्रवृत्ति देशैभरि नै छ भन्ने लागेर नै उनले हरेक विधालय र क्याम्पसहरुमा छन्दको ज्ञान पुर्याउन जरुरी ठाने। कहिलेकाहीँ नकरात्मक घटनाले सकरात्मक कार्यतर्फ उन्मुख गराउँछ, टौदहको घटनाले नराम्रोसँग बिझेर नै होला उनको मनमा छन्द प्रशिक्षणको अभिलाषा झनै बढ्यो। कलिला विधार्थीहरुले छन्द कवितालाई पुरोहितहरुले पुजापाठमा भन्ने मन्त्र र स्तोत्र जसरी लिएको हुँदा त्यो भ्रमलाई जरैदेखि चिर्नुपर्छ भन्ने अठोट सहित २०५४ सालदेखि योजनावद्ध तरिकाले छन्द कविता लेखन र वाचनकलामा कटिवद्ध बनेर लागिरहे। यही समयमा सुरु भएको डा. देवी नेपाल र डा. रामप्रसाद ज्ञवालीको सहयात्रा आजसम्म पनि यथावत छ। चलचित्र क्षेत्रका मह जोडी जस्तै मिल्ने नेपाली साहित्य जगतको यो `रादे´ जोडीले धेरै सिद्धहस्त छन्दकविहरु जन्माईसकेको छ र जन्माउँदै छ। साँच्चैभन्दा महाकवि देवकोटाको अवसान सँगसँगै खस्किंदै गएको छन्दकवितालाई पुन: उकास्नुमा यो जोडीको ठुलो भूमिका देखिन्छ ।
देवी नेपालले २०५४ देखि २०६२ सालसम्म काठमाडौं उपत्यकाभित्रका विभिन्न विधालयहरुमा पुगेर त्यहाँका विधार्थीहरुलाई छन्द प्रशिक्षण दिएपछि शुभचिन्तक र प्रशिक्षार्थीहरुबाट सरल भाषामा छन्दशाष्त्रको लेखनको माग भए बमोजिम २०६२ सालमा छन्द- पराग कृतिको जन्म भयो। अहिले आएर छन्द- पराग नेपाली छन्दकविहरु र शुभचिन्तकहरु बिचमा एउटा ब्राण्ड नै बनेको छ। डा. देवी नेपाललाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा चिन्नेहरु मध्ये लगभग ९० प्रतिशतले छन्द- परागलाई पनि चिन्दछन् भन्नुको तात्पर्य डा. देवी नेपाल र छन्द- पराग प्रयाय जस्तो भएको छ। समालोचकहरु यसलाई लामो खोज र अभ्यस्त लेखन साधनाको परिणति मात्र नभै छन्दकविता सम्बन्धी सैद्धान्तिक लक्षणग्रन्थ मान्दछन् जसमा नेपाली कवितामा प्रचलित सबैजसो शास्त्रीय छन्दहरुदेखि संस्कृत साहित्यमा प्रचलित अधिकांश लौकिक छन्दहरुको सैद्धान्तिक निरुपण गर्दै तिनको परिचय उदाहरण सहित दिइएको छ।
भिडियो हेर्नुस्-
सानै उमेरमा नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य बन्न सफल हुनुमा कामप्रतिको समर्पण र निरन्तर काव्य साधना नै हो । यही साधनाको प्रतिफल स्वरुप डा. देवी नेपालले छन्द- पराग लगायत सिर्जना, समालोचना र बालसाहित्यका २६ वटा साहित्यिक कृतिहरू र नर्सरीदेखि विश्वविद्यालयसम्मका ३० वटा नेपाली पाठ्यपुस्तकहरू प्रकाशन गरिसकेका छन्।
२०६२ सालमा नागार्जुन साहित्यिक प्रतिष्ठानबाट काठमाडौंको अनामनगरमा १० दिने छन्दकविता लेखन तथा वाचनकला प्रशिक्षण कार्यक्रम गरेपछि देवी नेपालको संस्थापन रुपमा छन्दकविता प्रशिक्षणको थालनी भयो र त्यो क्रम अहिलेसम्म जारी छ। काठमाडौं उपत्यकाभित्रका विभिन्न क्याम्पस, उपत्यका बाहिरका जिल्लाहरु हुदै २०६२ सालदेखि नै अन्तराष्ट्रिय रुपमा समेत प्रारम्भ भैसकेको उनको प्रशिक्षण यात्रा हालसम्म सशरीर भारतका दर्जनौं स्थान हुँदै, मलेशिया र छन्द-अलङ्कार अनलाइन टेलिभिजन मार्फत अमेरिका हुँदै विश्वभर पुगिसकेको छ। स्वदेश र विदेशमा गरेर सामान्य कक्षाकोठा देखि चलचित्र हलसम्म देवी नेपालले ६०० ओटा जति प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गरिसकेका छन्। २०७५ भदौदेखि मासिक रुपमा छन्द-तरङ्ग कार्यक्रम सञ्चालन गरी नेपाली छन्दकविताको इतिहासमै सशुल्क टिकटमा कविता श्रवण गराउने कार्यक्रमको संस्कार अनवरत रुपमा १९ औं श्रृङ्खलासम्म चलेको थियो। यसका माध्यमबाट नेपाली साहित्य जगतका बरिष्ठ देखि कनिष्ठसम्मका कविहरुले प्रत्यक्ष रुपमा आफ्ना छन्दबद्ध कविताहरु सुनाउने शुभ अवसर पाएका थिए। निकै उत्साहित रुपमा चलेको यो श्रृङ्खला हाल विश्वभर फैलिएको कोरोना महामारीका कारण स्थगित गर्नुपरेको छ।
छन्द प्रशिक्षणको हुटहुटी सदा मनमा जागिरहने नेपालले २०७७ साउन ३२ गतेदेखि इन्टरनेट प्रविधिको सदुपयोग गर्दै हरेक अाइतबार प्रसारण हुने गरी अाफ्नै छन्द-पराग युट्यूव च्यानलबाट छन्दकविता पाठशालाको थालनी गरेका छन्। सरलताबाट जटिलतातर्फ जाने योजना सहित सुरु भएको यो पाठशालामा हालसम्म ६ अोटा श्रृङ्खला प्रसारित भैसकेका छन्। जसमा नेपालले नेपाली कविता, गीत र गजलमा प्रयोग हुने वार्णिक छन्द, मात्रिक छन्द, लोक छन्द, मुक्त छन्द र बहरका बारेमा संक्षिप्त व्याख्या गर्दै बालोरी, सबाई, झ्याउरे जस्ता केही सरल छन्दहरुको जानकारी दिइसकेका छन्। सातौं श्रृङ्खलासम्म अाईपुग्दा सहभागीहरु निकै उत्साहका साथ लागेको हुँदा यसको दायरा अझै फराकिलो बन्ने सम्भावना देखिन्छ। अाफुले चाहेको बेला अनुकूल समय मिलाएर दोहोर्यार पनि हेर्न मिल्ने भएकाले छन्दको ज्ञान लिन चाहनेहरुका लागि यो पाठशाला अति उपयोगी छ। म त चिनिएको नाम चलेको कवि के छन्द पढ्न कक्षामा जानु ? साथीहरुले के सोच्लान? अरुको नजरमा सानो पो भइने हो कि? म त माध्यामिक विधालयमा नेपाली भाषा पढाउने शिक्षक भन्ने जस्ता त्रास बोकेका तर छन्दको ज्ञान लिन चाहने अभिलाषीहरुका लागि त यो पाठशाला नेत्रहीनलाई अाँखा उपाहार जत्तिकै भएको छ। न गुरुदक्षिणा नै तिर्नुपर्ने न समय नै कुर्नुपर्ने, न भिडभाडमा पढ्नुपर्ने।
नाम चलेका गीतकार, मुक्तककार र कविहरु पनि यो पाठशालाका प्रशिक्षार्थी बनेका छन्। नीति नियम नबुझी लेख्नेहरुका लागि यो बरदान सावित नै भएको छ भने नीति नियम बुझेर पनि लेख्ने क्रममा हेलचक्रयाई गर्नेहरुका लागि सचेत गराउने लगाम बनेको छ। मर्म नबुझेर लहैलहैमा छन्दको बिरोध गर्नेहरु पनि यो डिजीटल पाठशालाको प्रशिक्षार्थी बनेका छन्। छन्द विधान एउटा सुत्रवद्ध लय हो जसले श्रोता या पाठकलाई मन्त्रमुग्ध बनाउँछ। बच्चादेखि नै रुदा होस् या हास्दा, खाँदा होस् या खेल्दा, बाँदर धपाउँदा होस् या बाख्रा चराउँदा, मेला जाँदा होस् या बेशी झर्दा जे गर्दा पनि लय नै खोज्ने हामीहरु अहिले म त गध कवि छन्द सन्द मन पर्दैन लेख्दिन नभनौं। छन्दमा लेख्नुहोस् या नलेख्नुहोस् तर यो पाठशालाबाट ज्ञान भने जरुर लिनुहोस् जसले गर्दा तपाईंहरुले लेख्दै गरेका गध कवितामा पनि आन्तरिक लय चेतनाको आभास दिलाउनेछ। सक्छौं साधना गरौं सक्दैनौं टौदह उच्च माध्यामिक विधालयको पछिल्लो बेञ्चमा बस्ने १० कक्षाको विधार्थीले झैं `स्वाहा´ नभनौं।
prakashpkrs@gmail.com