बनारसको भाइरल भिडिओमा देखिएका व्यक्ति ‘भारतीय मतदाता, पैसा लिएर अभिनय गरेको स्वीकार’ – Janadesh Daily | ePaper

बनारसको भाइरल भिडिओमा देखिएका व्यक्ति ‘भारतीय मतदाता, पैसा लिएर अभिनय गरेको स्वीकार’


केशव कोइराला

बीबीसी न्यूज नेपाली

बनारस

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि रामको जन्म र जन्मभूमि अयोध्याबारे दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा भारतको बनारसमा एउटा धार्मिक समूहले गराएको घटनामा पीडितका रूपमा चित्रित “नेपाली युवक” वास्तवमा भारतीय मतदाता भएको र उनले पैसा लिएर भिडिओ बनाउन सहमति दिएको भारतीय प्रहरीले बताएको छ।

नेपालमा पनि निकै भाइरल भएको एउटा भिडिओ फुटेजमा विश्व हिन्दू सेना नामक सङ्गठनका कार्यकर्ताहरूले नेपालीका रूपमा प्रस्तुत गरिएका ती व्यक्तिको कपाल खौरिएर नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएको देखिन्छ।

उक्त घटनाको भिडिओ खिची बिहीवार सामाजिक सञ्जालमा प्रसार गरेको आरोपमा प्रहरीले शुक्रवार चार जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई शनिवार अदालतमा पेस गरिएको छ भने शनिवार थप दुई जना पक्राउ परेका छन्।

मुख्य आरोपित अरुण पाठक भने अझै फरार रहेको बनारस प्रहरीका एसपी अमित पाठकले जानकारी दिए।

उक्त घटनाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार अरुण पाठकले विश्व हिन्दू सेनाको फेसबुक पेज तथा आफ्नो फेसबुक र ट्विटरमा शुक्रवार बिहानसम्म प्रेषित गरिरहेका थिए।

तर त्यसपछि उनी निष्क्रिय देखिन्छन्।

को हुन् पीडितका रूपमा चित्रित व्यक्ति?

“नेपाली युवक”का रूपमा चिनाइएका ती व्यक्तिको जन्म बनारसमै भएको र उनी त्यहीँका बासिन्दा भएको प्रहरीले बताएको छ।

यसअघि शनिवार बिहान एसपी पाठकले बीबीसीसँग भनेका थिए, “उनले उजुरी दिएका छैनन्, उनलाई फेला पार्न वा सम्पर्क गर्न सक्यौँ भने मात्र हामी (उनी नेपाली हुन् कि हैनन्) भन्न सक्छौँ।”

एसपी पाठकले भने, “आज हाम्रो सम्पर्क यो भिडिओमा देखाइएका व्यक्तिसँग भयो। उनी यहीँ बस्छन् र जल संस्थानको कोलोनीमा उनको आवास छ।”

SP Amit Pathak

Varanasi Police
उनी यहीँ सूचीकृत भएका मतदाता हुन् र उनीसँग आधार कार्ड पनि छ। उनको जन्म यहीँ वाराणसीमा भएको हो…
अमित पाठक
एसपी, उत्तर प्रदेश प्रहरी

उनका अनुसार ती व्यक्तिका आमा र बुवा भारत सरकारका कर्मचारी थिए र उनका भाइ अहिले पनि जलसंस्थानमा कार्यरत छन्।

“उनी यहीँ सूचीकृत भएका मतदाता हुन् र उनीसँग आधार कार्ड पनि छ। उनको जन्म यहीँ वाराणसीमा भएको हो,” एसपी पाठकले भने।

कसरी बन्यो भिडिओ?

उक्त आपत्तिजनक भिडिओ बनाउने व्यक्तिहरूसँग ती व्यक्तिको पूर्वपरिचय भएको देखिएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार उनले पैसा लिएर अह्राएअनुसार अभिनय गर्न स्वीकारेका थिए।

“ती व्यक्तिहरूले भनेकाले आफू उनीहरूसँग गएको र भिडिओ बनाएबापत एक हजार रुपैयाँ लिएको उनले बताएका छन्,” एसपी पाठकले भने।

यसअघि बनारसमा बस्ने नेपाली समुदायका अगुवाहरूले पनि ती व्यक्तिको हुन् भनेर सोधखोज गरेका थिए। उनीहरूमध्ये केहीले ती व्यक्ति घटनास्थलनजिकै बस्ने अवकाशप्राप्त सैनिक भएको प्रारम्भिक सूचना आएको बीबीसीलाई बताएका थिए।

भिडिओमा उनले नेपाली बोलेको सुनिए पनि उनी नेपाली मूलका हुन् वा नेपाली बोल्न सक्ने भारतीय हुन् भन्ने स्पष्ट हुन बाँकी नै छ। प्रहरीले पनि यसबारे केही बताएको छैन।

यसअघि घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका एक आरोपित व्यक्तिले प्रहरीलाई दिएको बयानमा ती व्यक्तिलाई नेपालका प्रधानमन्त्रीविरुद्ध नारा लगाउन १,५०० रुपैयाँ दिएर तयार पारिएको दाबी गरेका थिए।

नेपाली मन्दिर बनारस

के भन्छ प्रहरी?

बनारस प्रहरीले घटनामा संलग्न सबैलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

“यो पूरै घटनाक्रममा हामी थप प्रमाण सङ्कलन गर्दैछौँ र अन्य व्यक्तिको गिरफ्तारीका लागि प्रयास पनि हुँदैछ,” एसपी पाठकले भने।

बनारसबाट प्रकाशित अमर उजाला पत्रिकाका अनुसार उक्त घटनाका मुख्य आरोपित अरुण पाठकलाई प्रहरीका तीनवटा टोलीले खोजिरहेको छ।

उक्त पत्रिकाका अनुसार भिडिओ खिच्ने सन्तोष कुमार पाण्डेयले पाठकले फोन गरेर आफूलाई गङ्गाको घाटमा बोलाएको र त्यहाँ पुग्दा पैसा दिएर एक नेपाली युवकलाई कपाल खौरिन तयार राखिएको प्रहरीलाई बताएका थिए।

के हो विश्व हिन्दू सेना?

विश्व हिन्दू सेना बनारसमा पनि खासै नाम नसुनिएको समूह हो। वाराणसी प्रहरीका अनुसार अरुण पाठक त्यसका नेता हुन्।

तर उक्त सङ्गठनको पर्चामा त्यो कतै दर्ता भएको सङ्केत देखिँदैन।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्