झोलुङ्गे पुल निर्माणका लागि सामान ढुवानी गरिँदै – Janadesh Daily | ePaper

झोलुङ्गे पुल निर्माणका लागि सामान ढुवानी गरिँदै


जनादेश, रासस

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरु गागामा निर्माण गरिन लागेको झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको छ ।

छाङ्गरु र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न आएको माउण्टेन एयरको हेलिकप्टरमार्फत पुल निर्माणको सामान ढुवानी शुरु गरिएको हो ।

तिङ्कर खोला र नाम्पा खोला जोडिने तिपुलच्याक्ती भन्ने ठाउँमा झोलुङगे पुल निर्माण गरिन लागेको हो । झोलुङगे पुल निर्माण शुरु गर्न हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको निर्माण समितिका अध्यक्ष शङ्कर ऐतवालले जानकारी दिनुभयो ।

सामान ढुवानीका लागि बाटो नहुँदा अहिले हेलिकप्टरमार्फत सामान ढुवानी गरिन लागेको हो । हेल्पटास नेपाल र डोलिडारको आर्थिक तथा समाज कल्याण समाज दार्चुलाको प्राविधिक सहयोगमा झोलुङगे पुल निर्माण हुन लागेको हो ।

स्वीस सरकारको रु ७५ लाख १४ हजार ३५७ र व्यास गाउँपालिकाको रु चार लाख ७९ हजार ६३९ गरी कुल रु ७९ लाख ९३ हजार ९९६ लागतमा पुल निर्माण हुन लागेको हो ।

“सदरमुकाम खलङ्गाबाट २८ कोस उत्तरमा पर्ने छाङ्गरुमा पुल निर्माण गर्न निकै चुनौती छ”, समाज कल्याण समाजका अध्यक्ष रघुवीरसिंह ठगुन्नाले भन्नुभयो, “तैपनि यो क्षेत्रमा झोलुङगे पुल निर्माण गर्दैछौँ ।” पुल ६७ मिटर लम्बाइको हुनेछ ।

यो क्षेत्रमा झोलुङगे पुल निर्माणका लागि चाहिने सामग्री प्रतिकिलो रु २०० का दरले ढुवानी गरिँदैछ । झोलुङगे पुलका लागि चाहिने लठ्ठालगायतका सामान ढुवानी शुरु गरिएको निर्माण समितिका अध्यक्ष ऐतवालले बताउनुभयो ।

विगतमा भारतीय मार्ग हुँदै व्याससम्म निर्माण सामग्री ढुवानी हुँदै आएकामा यो पटक बन्दाबन्दीका कारण हेलिकप्टरको प्रयोग गरेर सामान ढुवानी गर्नुपरेको हो ।

भारतबाट सामान ढुवानी गर्दा केही सस्तो पर्न जाने भए पनि यो पटक बन्दाबन्दीले सम्भव हुन सकेन । आगामी कात्तिक महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको समाज कल्याण समाजका अध्यक्ष ठगुन्ना बताउनुहुन्छ ।

विगतमा यो क्षेत्रमा काठेपुलमार्फत आवतजावत हुँदै आएको छ ।

काठेपुल विस्थापन गरी झोलुङगे पुल निर्माण गर्न लागिएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्